पृथक् शैलीमा आयो ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’

डिसी नेपाल
२९ माघ २०८० १०:०१

काठमाडौं। फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ रिलिज भएको छ। विवाह गीतको रूपमा तयार पारिएको यसमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको सङ्गीत रहेको छ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको सांगीतितिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ। पछिल्लो समयका चलचित्रहरूमा गरेको अभिनयको कारण चर्चामा बराल ‘कमेडी’ शैलीमा भिडियोमा प्रस्तुत भएका छन् । यसको भिडियोको ‘सेटअप’ पनि पृथक् शैलीमा गरिएको छ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। सुवेदी नै यसका लेखक हुन्। यसमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ। यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईँ सह-निर्माता हुन्। विवेक खड्का (योलो) एशोसियट निर्माता हुन्। छायाकार सुशन प्रजापति हुन्।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ। जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *