‘रासस प्रजातन्त्रको बिरासत’

डिसी नेपाल
७ फागुन २०८० ९:२१

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) प्रजातन्त्रको बिरासत हो । समाचार समितिको इतिहासले नेपालको राससलाई प्रजातन्त्रको उपलब्धिसँग जोडिने पहिचान दिएको छ । राणा शासनको अन्त्यसँगै उदाएको खुला परिवेशमा नेपाली समाजले विविध क्षेत्रमा स्वतन्त्र कदम बढाउन थाल्यो भने उन्नयनको लागि प्रतिस्पर्धाको स्तर ह्वात्तै बढेर गयो । रासस यही बेलाको उपलब्धि हो ।

नेपालमा समाचार समितिको स्थापना र इतिहास विश्वकै हाराहारीमा देखिन्छ । पत्रकारितालाई थप फराकिलो फाँटमा विस्तार गरेको राष्ट्रिय समाचार समितिको सन्दर्भ प्रजातन्त्रसँग न्याश्रित छ । प्रजातन्त्रसँग धेरै विषयको विरासत त्यसरी नै जोडिएको छ, जसरी राससको । यो अध्ययनको कुरा भयो ।

जे होस्, फागुन ७ गते मुलुकले मनाउने प्रजातन्त्र दिवसकै दिन राससले स्थापना दिवस मनाएर अन्योन्याश्रित सम्बन्धको उद्बोध दिएको छ । नेपालमा भन्दा १२ वर्षअघि मात्रै विश्वमा समाचार समिति पत्रकारिता सुरु भएको अभिलेख छ ।

आजभन्दा ७३ वर्षअघि फागुन ७ गते नेपाली जनताले प्रजातन्त्र स्थापना गरे । नेपाली समाजमा जाग्रत स्वतन्त्रताको अपेक्षालाई नेपाली कांग्रेसले नेतृत्व दियो र सुरु आन्दोलनले शताब्दी लामो राणा शासनको अँध्यारो युगलाई २००७ फागुन ७ ले इतिहासको रौरब गर्तमा अङ्कित गरिदियो ।

जनताको लागि बन्द सबै ढोकाहरु त्यही दिनले खोल्यो र नेपाली समाजले मुक्त अकाश पायो । आधुनिक नेपालको चिन्तन विविधता र हाम्रो बहुल सांस्कृतिक वैशिष्ठ्यको खुला यात्रा यहीबाट निर्वाध सुरु भयो ।

बीचमा रोक्न खोजे पनि अहिले नेपाली समाज उभिएको चिन्तनधरा त्यही फागुन ७ ले दिएको देन हो । यदि फागुन ७ को पाना पल्टाएर छोप्ने हो भने नेपाल भन्नोस् वा हाम्रो आधुनिक इतिहासको प्रारम्भ विन्दु भेटिने छैन । आधुनिक सोचको निर्वाध युगको उदय कहिले भयो त्यो ठम्याउने पाठ पढ्न पाइने छैन ।

राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायत अनेक विषयमा प्रजातन्त्रले नयाँ आयाम, गति र गन्तव्य देखाएको हो । सामाजिक विकास र विस्तारको यही समयमा पत्रकारिताले पनि नेपालमा फड्को मारेको छ । निजी पत्रपत्रिका छापिन सुरु भए । यही क्रममा समाचार समितिहरुको पनि आगमन भयो । रेडियो नेपाल त यसअघि नै प्रजातन्त्र ल्याउन बजेको हो ।

नेपाल संवाद समिति (नेसस) २०१६ को पुस १ गते स्थापना भयो । २०१७ साल बैशाख १० गते सगरमाथा संवाद समिति (ससस)ले मूर्तरुप पायो । यी दुई समिति पत्रकारितामा क्रियाशील सम्पादकहरुको निजी संलग्नतामा स्थापित भएका हुन् । राजा महेन्द्रले पहिलो जननिर्वाचित संसद् र प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकार विघटन तथा प्रजातन्त्रको २०१७ पुस १ गते हरण गरेपछि राष्ट्रिय संवाद समिति गठन गरिएको हो ।

राष्ट्रिय संवाद समितिले २०१८ फागुन ७ गतेबाट समाचार प्रकाशन शुरु गर्यो । यसअघि स्थापित र यो समिति गाभिए । २०२८ सालमा ‘संवाद’ भनिने ठाउँ ‘समाचार’ भनिन थालियो र बन्यो अहिलेको राष्ट्रिय समाचार समिति । तर गाभिएर बन्नुअघिको बिरासतलाई अस्वीकृत गर्दै राससको स्थापना दिवस २०१८ साल फागुन ७ गते दर्ज गरियो । राजा महेन्द्रले सोचेको निर्दलीय पञ्चायती सत्ताले त्यो बिरासत अस्वीकृत गरेको हो । यही कारण रासस यस वर्ष ६३ औँ स्थापना दिवस मनाउँदैछ ।

सत्ताले स्वीकृत अस्वीकृत गर्ने एउटा कुरा हो तर इतिहास त इतिहास नै हो । इतिहास सत्ताभन्दा स्वतन्त्र हुनसक्छ । यही कारण अहिलेको यथार्थ राष्ट्रिय समाचार समिति भए पनि नेसस, ससस र राससको इतिहास मर्ने होइन, मार्न सकिने भएन ।

राजा महेन्द्रले पञ्चायती कलेवर दिएको राससमा प्रजातन्त्रको समयमा  जन्मिएका नेसस, ससस र राससको भ्रूण अविच्छिन्न छ । त्यसैले रासस प्रजातन्त्रको विरासत (लिगेसी) हो । तानाशाह शासकले जनतालाई सम्मोहित गर्न मुख्यतः दुईओटा सूत्र रटान गर्छन् । एक राष्ट्रियता,दुई विकास ।

नेपालको सन्दर्भमा प्रजातन्त्र थपेर यस्ता सूत्र तीनओटा सुनाइए । यही कारण हो प्रजातन्त्र दिवस फागुन ७ गते राससको पनि स्थापना दिवस बनाइयो र मनाइयो । बिरासत वा जो, जे कारण भए पनि अब यो दिवस स्थापित नै भयो । इतिहास अध्ययनको विषयमा गयो ।

राणा दमनको १०४ वर्षे शासन र पञ्चायती राजतन्त्रको ३० वर्षे निर्दलीय शासनले प्रजातन्त्रलाई बन्दी बनाएको थियो । प्रजातन्त्रमा जन्मिएको समाचार समिति, प्रजातन्त्र ल्याउन स्थापना गरिएको रेडियो नेपाल र राणाकालको गोरखापत्र ९गोर्खापत्र० वा राजा कालको नेपाल टेजिभिजन यी सबै सञ्चार–पत्रकारितालाई राजतन्त्रले सरकारी भनिने बानी पारिदियो ।

जब कि यी सञ्चारपत्रकारिताका संस्था सार्वजनिक संस्था हुन् वा राज्य संरक्षित र प्रबद्र्धित संस्था हुन् । सरकार यही राज्यको शीर्ष एक अङ्ग मात्र हो, राज्य सञ्चालक सरकार । सरकारी भनिनुले शासन सत्तालाई हेर्न, भन्न पाउने आलोचनात्मक चेतलाई बोधो पार्ने र पत्रकारिताको स्वायत्त सत्तामाथि खुकुरी झुन्ड्याउने सरह भयो । गरियो यही ।

नेपाल राज्यको समाचार समिति (रासस) विभिन्न सञ्चार– पत्रकारिता माध्यमहरुको समाचार स्रोत हो । यति मात्रैमा रासस सीमित छैन । यो अन्तर्राष्ट्रिय समाचार समितिहरुको समकक्षी र समाचार स्रोत पनि हो । एक आपसी समाचार आदान–प्रदान गर्ने अन्तर्राष्ट्रिय भाइचार समेत राष्ट्रिय समाचार समितिले कायम गरेको छ ।

पत्रकारिता समाचार र विचार प्रवाहको माध्यम हो । भाषा समाचार, विचारको वाहक माध्यम मात्र । पत्रकारिताको लागि चल्तीको जुनसुकै भाषा पनि माध्यम हुनसक्छन् । राससले खासमा नेपाली र अङ्ग्रेजीलाई आफ्नो प्रवाहको माध्यम भाषा बनाएको छ । पत्रकारिताको विकास शृङ्खलामा अनेक कडी जोडिएका छन् र यही कडीमा कार्टुन पत्रकारिता थपिएको पनि धेरै बर्ष भयो ।

झण्डै ६५ वर्ष पार गरेको नेपालको समाचार समिति पत्रकारिताले असङ्ख्य समाचार, तस्बिर प्रवाह गरिसकेको छ । यस बीच विधा घोषित गरिएको ‘बिट’वा विषयगत रिपोर्टिङ र विचारले पहिचान पनि पाएको छ । अनेकौँ विधामा राससले सेवाग्राही  पाठकलाई समाचार वा आफ्ना उत्पादनहरु दिएको छ । ती उत्पादनहरुले पाठकको ज्ञान र जानकारीमा कति ऊर्जा थप्यो होला रु समाज विकासको क्रममा कति योगदान पुग्यो होला र राज्य, सरकारलाई राससले कति पाठ पढायो होलारु लेखा खोज्न सम्भव छैन ।

पत्रकारितामा छापा, विद्युतीय वा श्रव्यदृश्य माध्यमहरु विभिन्न प्रकारका छन् । यस्ता सबै माध्यमका बीच पनि आआफ्नो समाचार समिति विश्वका प्रायः सबै मुलुकमा सञ्चालित छन् । लोकतान्त्रिक र अलोकतान्त्रिक वा स्वतन्त्र र बाधितजस्तो शासन सत्ता भएको देशमा पनि समाचार समितिहरु छन् ।

फरक, लोकतन्त्रमा समाचार समिति र पत्रकारिताको स्वायत्त बढी फराकिलो छ । तर लोकतान्त्रिक नेपालमा चाँहि सरकारी सत्तासँग जोडिने पत्रकारिता साँघुरै घेरामा बाँधिएको छ । सत्तालाई अलिकति चेताउन खोजे वा खोज्नेहरु विरुद्ध एकथरि चुक्लीखोरहरु दौडेर मन्त्री, सचिव र सरकारी ताबेदारको कान फुस्फुसाउन पुग्दा रहेछन् ।

जुनसुकै भाषामा गरिने भए पनि पत्रकारिताले सम्बन्धित भाषा साहित्यको विस्तार र विकासमा पनि योगदान पुर्याएकै हुन्छ । राससले पनि आफ्नो लामो र सक्रिय उमेरमा त्यो काम गरेकै छ । पत्रकारितामा चुनौती र समस्या छन् । यी थपिन्छन् पनि । रासस यस्तो अवस्थाबाट मुक्त छैन । चुनौती सामना गर्दै यहाँसम्म आएको राष्ट्रिय समाचार समितिले निकै लामो यात्रा तय गर्नैछ ।

अव्यवस्थित सामाजिक सञ्जालले पत्रकारितालाई थप चुनौती थोपरी दिएको छ तर सञ्जाल होस वा जेसुकै पत्रकारितालाई समाचार स्रोत चाहिन्छ । यही नै विचारको स्रोत हुन् वा बनाइन सकिन्छ । सधैँजस्तै चुनौती सामना गर्दै रासस अगाडि बढिरहने विश्वासका साथ वार्षिकोत्सवको शुभकामना । (लेखक राससका पूर्व अध्यक्ष हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *