प्रचण्डको त्रासमा सकिएको कांग्रेस महासमिति बैठक

कमला थापा
१३ फागुन २०८० ८:३२

मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपालीक कांग्रेसको महासमिति बैठक भर्खरै सकिएको छ। बैठकले पार्टी कार्यकर्तामा उर्जा प्रदान गर्ने केही काम निर्णय गर्न सकेन।

बरु, मुलुकको सबैभन्दा ठूलो दलका सभापतिमाथि संसदको तेस्रो दलका अध्यक्षले कति त्रास भरिदिएका रहेछन् भन्ने प्रष्ट भयो।
हिन्दू राज्यको विषय र निर्वाचनमा गठबन्धन नगर्ने भन्ने विषयप्रति सभापति शेरबहादुर देउवामाथि निकै ठूलो दबाव रहेको देखियो।

महामन्त्री गगन थापाले पेश गरेको प्रतिवेदनलगायत अन्य विषयमा केन्द्रीय समिति बैठकबाट निर्णय गराउने प्रचञ्च गरेर सभापति शेरबहादुर देउवाले आफू सत्ताका लागि जुन हदसम्म पनि जान तयार हुने पुष्टि गरिदिनु भएको छ।

महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नु पर्ने र कार्यकर्ताले रुखमा बाहेक अन्त भोट नहाल्न गरेको प्रस्तावपछि सभापति देउवामा बेचैनी बढेको थियो।

कतिसम्म भने महासमिति बैठकमा महामन्त्री थाहपाको सो प्रस्ताव आउने पक्का भएपछि देउवा प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नु भयो र सो प्रस्तावले गठबन्धनमा कुनै फरक नपर्ने आश्वस्त पार्नु भयो।

त्यसअघि देउवाले महामन्त्री थापाको सो प्रस्ताव रोक्ने सबै अस्त्र प्रयोग गरिसक्नु भएको थियो। थापा आफ्नो अडानबाट पछि नहटेपछि तनावमा रहेका देउवाले सो प्रस्तावका विषयमा केन्द्रीय समितिबाट निर्णय लिने मध्यमार्गी बाटो अपनाउनु भएको छ, जहाँ देउवाको पक्षमा झण्डै तुहाइ बहुमत छ। यसको अर्थ केन्द्रीय समितिको बैठकबाट महामन्त्री थापाको प्रस्ताव अस्वीकृत हुने पक्का छ।

महाधिवेशनपछिको महत्वपूर्ण मानिने महासमिति बैठकमा सत्ताबाहेकका विषयमा बहश र छलफल भएको पाइएन। सभापति देउवालाई आलोपालो प्रणाली अनुसार जसरी पनि प्रधानमन्त्री हुनुछ, पाँच पटक प्रधानमन्त्री भइसकेको देउवासँग छैटौं पटक प्रधानमन्त्री बनेर के गर्ने भन्ने कुनै योजना छैन। तै पनि उहाँलाई प्रधानमन्त्री बन्नै पर्नेछ।

आफूलाई सम्हाल्न समस्या भइरहेका बेला देउवालाई किन प्रधानमन्त्री बनाउने भन्ने विषयमा अब कांग्रेसभित्र र विशेष गरी उहाँका आसेपासेले पनि सोच्ने बेला आएकोछ।

अहिलेको अवस्था र व्यवस्थाप्रति जनआक्रोश बढिरहेका बेला त्यसलाई बल पुग्ने गरी कांग्रेसजस्तो पार्टीले निर्णय गर्न हुँदैन।
आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्दै आएको कांग्रेसले आफूलाई जनभावना अनुसार चलाउन छोडेको धेरै भइसक्यो।

आफ्नो नीति र सिद्धान्त छोडेर सत्ताका लागि जे पनि गर्न तयार हुने अवस्थामा कांग्रेसलाई देउवाले नै पु¥याएको हो भन्दा अन्यथा नहोला।

कांग्रेस महासमिति बैठक जारी रहँदा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको सार्वजनिक भयो। माओवादी नेताहरु सार्वजनिक रुपमा कम्युनिष्टबीच गठबन्धन गर्नुपर्छ भन्ने अभिव्यक्ति दिइरहेका छन्।

उत्तरी छिमेकी चीन बढ्दो उपस्थितिले फेरि बाम गठबन्धन नहोला भन्न सकिन्न, यस्तो बेलामा कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने प्रस्ताव पारित हुँदैन।

एमालेलाई सरकार बाहिर हुँदाको औडाहा, बदलाको भावनाले जलेको मन बोकेर थापेको ढोक्सा खाली हुँदा छटपटिएको यसका लागि ठूलो पीडाको बिषय नभएको होइन।

त्यसैले प्रधानमन्त्री प्रचण्डसँग केपी ओलीको सम्वन्ध पनि निकै राम्रो हुँदै गएको देखिन्छ। नेपाली कांग्रेसले गठबन्धन तोडेको खण्डमा प्रचण्ड को सम्बन्ध तुरुन्तै एमालेसँग हुने र त्यतिबेला सरकारको नेतृत्व प्रचण्ड कै हातमा आउने देखेपछि कांग्रेस सभापतिको छटपटी बढेको हुनुपर्छ।

सत्ता र शक्तिको स्वार्थमा बनेको गठबन्धन स्वार्थबाटै टुट्यो भने आश्चर्य मान्नुपर्ने छैन। आखिर कम्युनिष्टहरु एक भएको दिन कांग्रेसले चाहेरपनि गठबन्धन रहनेवाला छैन।

कांग्रेस आफ्नै नेता विपीको मौलिक सिद्वान्तमा नफर्किने हो भने गठबन्धन रहे या नरहे पनि नेपाली कांग्रेसलाई कमजोर बनाउने सिध्याउने तत्वहरु नेपाली कांग्रेस भित्रै छन्।

जसले आजको कांग्रेसलाई मुठ्ठीमा राखेर संचालन गरिरहेका छन्। केही नेताले बुझेका छन्। तर उनैलाई साथ नदिने तत्वहरू अन्तैबाट संचालित भएको अबस्थाले नीतिगत रुपमै कांग्रेसलाई कमजोर बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न लागिपरेकाबाट जति सक्यो चाँडो त्यस्तालाई हटाउने या टाढै रहेको राम्रो होला। अन्यथा नेताहरुले आफ्नै सहयात्रीबाट धोखा नखालान् भन्न सकिन्न।

महासमिति बैठकमा उठको अर्को मुख्य विषय भनेको नेपाललाई हिन्दू राज्य बनाउने भन्ने हो ।

त्यति धेरै केन्द्रीय सदस्य र महासमिति सदस्यहरुले हस्ताक्षर गरेर सभापतिलाई बुझाएको हस्ताक्षरको विषयमा महामसमिति बैठकमा गम्भीरतापूर्वक छलफल भएन।

विश्वको एकमात्र हिन्दू मुलुक जसलाई देव भूमि पनि भनिन्छ, यस्तो मुलुकलाई हिन्दू राष्ट्र बनाउन कसैको केही पनि बिग्रिँदैन। बरु नेपाल हिन्दू राष्ट्र भयो भने मुलुकको राष्ट्रियता बलियो हुन्छ र समाजमा बढ्दै गएको विकृति विसंगतिमा कमी आउन सक्छ।

अब यो विषयमा धेरै विवाद नगरी नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानको नेतृत्व कांग्रेसले लिन ढिला गर्नु हुँदैन। अन्यथा हामीलाई भावी पुस्ताले माफ गर्नेवाला छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *