टुँडिखेल परेडमा तीन पुस्ता

आज सेना दिवस। प्राकृतिक पात्रोमा वर्ष भरिकै उत्तम दिन। न जाडो न गर्मी। उत्तरतर्फ तिब्बतदेखि ब्यापारी अतिथिहरु घोडा, राडीपाखी, जडिबुटी ब्यापार भर्न आउने समय। दक्षिण र बिश्वभरीबाट पशुपति दर्शन गर्न आउने लाखौं भक्तजन राजधानीमा जम्मा हुने दिन।

उत्तर र दक्षिण तथा विश्वभरिबाट आउने अतिथिगण र हिँउदका फुर्सदिला राष्ट्रवासीलाई टुँडिखेलमा आमन्त्रण गरी सैनिक अतिथ्यता, कला, संस्कृति प्रदर्शन गर्ने दिन।

छिमेकीहरुलाई प्रेम सद्भाव शुभेच्छा दर्शाएर सु-संस्कृति र सभ्यता प्रदर्शन गर्दै सुरक्षा आश्वस्तता प्रकट गर्ने दिन। राष्ट्रवासीलाई शान्ति सुरक्षा, विकास र समृद्धि दिन कटिवद्ध सारा जनताको साझा सेना भनेर आश्वस्त पार्ने दिन।

पंक्तिकारको ७ सैनिक पुस्तामा सिपाही हजुरबुबाले घोडेजात्रामा सेना दिवस मनाउनु हुन्थ्यो। हुद्धा बुबाको सैनिक जीवनमा सैनिक दिवस महाशिवरात्रिमा मनाउन शुरु भइसकेको थियो। पंक्तिकारले ३४ बर्ष यो दिवस बुबाले जस्तै महाशिवरात्रिमा मनाउने अवसर पाएँ।

८७ बर्षीय बुबा र म आज टुँडिखेलमा उपस्थित भएर यो दिवसलाई नियालिरहेका थियौं। बुबाका छोरा नाति टुँडिखेलमा परेड खेलिरहेका थिए। प्रमुख अतिथिको प्रतीक्षा अवधिभर हामीले इतिहास, वर्तमान र भविष्यको समीक्षा गर्‍यौं।

पिताले गौरवशाली इतिहास स्मरण र ब्याख्या गरिदिनुभयो। पंक्तिकारले वर्तमानको बर्णन गरेँ। परेडमा सामेल सन्तान हिजो हामी जस्तै उज्ज्वल भविष्यको मिठो सपना देखिरहेका थिए। ३ सन्तानका बीच धारबाट सेना दिवस हेर्दै लिपिबद्ध गरेको यो आलेख सेना दिवसलाई समर्पण गरेको छु।

प्रकृतिको बर्णन

बाँके राष्ट्रिय निकुञ्जको संरक्षण प्रशिक्षण समापन गरेर हिजो साँझ नेपालगञ्ज काठमाडौं उडान भरेर आउदा सेताम्य हिमाल हाँसेर चम्किरहेका थिए। पालुवा हालेको हरियो वन नेपालको धन बोकेको हरियाली महाभारत, चुरे र भित्रि मधेसको हरित समृद्धि नमूना व्यवस्थापनको प्रतीक्षामा प्रार्थनारत थियो।

लहलह तोरी र गहुँले पँहेलपुर मधेस अमूल्य सुन जस्तै टल्किरहेको थियो। शिवरात्रिको पूर्व सन्ध्यामा परेको वर्षातले नुहाइदिएको नेपालआमाको मेरो बर्णन सुनेर पिताले थप्नु भयो-

“शिवरात्रिमा बर्षेनी पानी पर्दछ र पृथ्वीलाई सफा पारिदिन्छ। किसान खुशी। डढेलो नियन्त्रण हुँदा वन जंगल र वन्यजन्तु औधी खुशी। प्रकृतिको अनुपम चक्र र हामीलाई बरदान।”

धर्म र ईश्वरको बर्णन

पिताको बिश्वास थियो-श्रृष्टि सत्य-असत्य संहारका स्वरुप भगवान महादेव हुन्। संहारका लागि महादेवले खडा गरेको सेना नै वर्तमान सेनाको इतिहास हो। पुत्र गणेश बिशाल सेनाका गणपति थिए।

अझ रस्सियन स्वामी पत्रिदासको गीताको ब्याख्यान र जिसस् क्राइष्टका पिता श्रीकृष्ण भगवान भन्ने स्पष्टोक्ति सुनेर पितालाई सबै धर्मको ईश्वर एउटै हुन् र लक्ष्य मानव रक्षा कल्याण धर्म हो भन्ने अटल बिश्वास थियो।

मैले पिताको सुनाई र बुझाइलाई हुबहु समर्थन गर्दै थपेँ-

म प्रकृतिप्रेमीका लागि ईश्वर भनेको प्रकृतिको बिराट स्वरुप हो। त्रिशुल भनेको कैलाश सगरमाथा र कञ्चनजञ्घा चुचुरोको सुन्दर हिमालय पर्वत; जसलाई साँस्कृतिक एकताको डम्बरुले बाँधेर राखेको छ।

राजनीतिक साँस्कृतिक एकताका आ-आफ्नै वर्णन

बर्तमानको बर्णन गर्दै पितालाई सुनाए-गत बर्ष लोपोन्मुख प्राचीन नेपालका ५५० मौलिक मादल बजाएर नेपाली सेनाले विश्व कीर्तिमानको सम्मान र प्रमाणपत्र पायो। यो बर्ष म्याग्दीस्थित मगर समुदायको प्राचीन र बिशिष्ट थाल बाजाको कला प्रदर्शन गरेर बिश्व कीर्तिमान हासिल गरेको छ।

राज्यलाई आर्थिक भार नपर्ने तर मौलिक संस्कृतिको रक्षा गर्ने सैनिक इम्प्रोभाइजेसनको कति बिशिष्ट सृजना र प्रतिभा।

राजनीतिक एकीकरण र एकता नेपाली सेनाको बहस भित्रको कुरा भएन। तर पनि गौरवशाली राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मरण र सम्मान गरेर नेपाली सेनाले राष्ट्रिय एकता अपरिहार्य भएको र राष्ट्रिय एकताको सुत्रमा सबैलाई एकताबद्ध हुन नम्र र भद्र प्रत्यक्ष अप्रत्यक्ष अनुनय बिनय गर्दै आएको छ।

राजनीतिक एकताको डोरी चुँडिएर छिन्नभिन्न र बिग्रह माथि बिग्रह भएपछि नेपाली सेनाले सारा नेपालीहरुलाई साँस्कृतिक एकताको मालामा उन्ने संकल्प लिएको छ र त्यसको प्रतिबिम्ब आज अगाडि टुँडिखेलमा देख्न सकिन्छ।

पिताले सगर्व थप्नुभयो-

“इतिहास, धर्म र सम्पदाको रक्षा परापूर्वकालदेखि नेपाली सेनाले गर्दै अएको छ। प्रकृतिको रक्षा भन्नै परेन। विपद् र महामारीमा सेनाले लगाएको गुन सम्झिदा नरुने को होला? यो मुलुक स्वतन्त्र सुन्दर र सार्बभौम राख्न बलिदानी दिने ती सयौं वीर सैनिकहरुलाई हेलिकोप्टरले पुष्प बृष्टि गरेर सम्मान गरेको होला।” पिताले थप्दै जानुभयो।

सैनिक कुटनीति झल्किने दिन

मैले पितालाई सुनाउँदै गएँ-

गत वर्ष भारतीय र बेलायती ब्याण्डले संयुक्तरुपमा सैनिक दिवस मनाए। यो ऐतिहासिक दिवसलाई सम्मान गरे। यो वर्ष यो दिवसमा सामेल हुन अमेरिकन सैनिक ब्याण्ड आइपुगेको छ।

सैनिकमञ्चमा आजका दिन विदेशी राजदूतहरु, सैनिक सहचारीहरु उपस्थित भएर हर्षोल्लासपूर्वक यो साझा दिवस मनाउँछन्। राननीतिज्ञ, सरकार, प्रशासक, प्राबिधिक, न्यायाधीश अन्य सुरक्षा निकायहरु सबै एउटै कुटनीतिक धागोमा उनिन्छन् र सुन्दर माला बनाउँदछन्।

राष्ट्रिय कुटनीतिमा ग्रहण लागेको बेला सैनिक कुटनीतिले ग्रहण फटाउन योगदान गर्दछ। नेपालमा सैनिक कुटनीतिको बिशेष र उल्लेखनीय महत्व छ। याने कि नेपाली सेना माथि अपार अन्तर्राष्ट्रिय भरोसा र बिश्वास छ। त्यसको प्रमुख कारण संयुक्त राष्ट्र संघमा नेपाली सेनाको अविच्छिन्न ६६ बर्ष लामो योगदान र ठूलो बलिदानी सहितको इमान्दार त्याग हो।

नेपाली सेनाको अभिवाकत्व र छत्रछायाँमा राष्ट्रिय सेवा दलले समेत राष्ट्रियता र राष्ट्रिय कुटनीति सम्वर्द्ध  प्रबर्द्धनमा उल्लेखनीय भूमिका निभाउँदै आएको छ। राष्ट्रिय सेवा दलको फुर्तिलो गीत संगीत नृत्यले स्वर्गभन्दा प्यारो मातृभूमिलाई आत्मसात् गरेको प्रष्टै देखिन्छ।

राजनीतिक एकताको डोरी चुँडिएर छिन्नभिन्न र बिग्रह माथि बिग्रह भएपछि नेपाली सेनाले सारा नेपालीहरुलाई साँस्कृतिक एकताको मालामा उन्ने संकल्प लिएको छ र त्यसको प्रतिबिम्ब आज अगाडि टुँडिखेलमा देख्न सकिन्छ।

सैनिक दिवसको पूर्व सन्ध्यामा १८ देशका ११२५ जना सैनिकहरुको बहुराष्ट्रिय संयुक्त अभ्यास शान्ति प्रयासमा उपस्थित बिदेशी कुटनीतिज्ञहरुले शान्ति स्थापनार्थ नेपालको योगदानको उच्च मूल्यांकन गर्दै भनेका थिए-

“नेपालले अन्तर्राष्ट्रिय शान्ति दूत भएर मात्र होइन अब नेतृत्व लिएर शान्ति कार्यको अगुवाई गर्ने क्षमता राख्दछ।”

सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएयता १९५८ देखि ६६ वर्षमा नेपालले ४ महादेशका ४१ राष्ट्रमा शान्ति स्थापनार्थ १,६७,००० शान्ति सैनिक खटाएर विश्व शान्ति स्थापनामा योगदान गरिसकेको छ। गत नोभेम्बरदेखि सानो मुलुक नेपाल शान्ति सैनिक र शान्ति महिला सैनिक खटाउनेमा विश्व कै पहिलो ठूलो मुलक भएको छ।

सैनिक खेलकुद र खेलाडीको मालाले नेपाललाई मजबुत बनाएको छ।

पिताको एकता माला

पिताले गर्व गर्दै भन्नुभयो-

“हालै सम्पन्न भुतपूर्वक सम्मेलनले नेपालभरि बसोबास गर्ने भूपूहरुलाई एउटै मालामा उनेको छ। कल्याणकारी कार्यक्रम अन्तर्गत स्कूल कलेज, अस्पताल, कृषि, उद्यममार्फत आश्रित लाखौं परिवारलाई एकताको मालामा उनेको छ र राष्ट्रिय ढुकुटीलाई केही राहत बिश्राम दिएको छ। उत्तर दक्षिण सडक निर्माण गरेर सामरिक, ब्यापारिक, आर्थिक, सामाजिक मालामा यो क्षेत्रलाई जोड्ने चाहना राखेको छ। सबै परिवर्तनलाई सहश्र स्वीकारेर राजनीतिक एकताको रुखमा समृद्धिको फल लाग्ने सपना पालेर बसेको छ। बिदेशिने लाखौं युवाहरुलाई रोजगारको मालामा गाँसेर राष्ट्रभक्ति र राष्ट्र सेवामा समाहित गरेको छ।’

मैले ताली पड्काएर पिताको श्रद्धा र आस्थालाई सम्मान गरें।

बाउ छोराका साझा जिज्ञाशा र प्रार्थना

बुबाको जिज्ञाशा जायज थियो। हीरा सेना भएको देशले सम्बृद्धिको फल किन फलाउन सकेन? पौरखी र वीरहरुको देशमा समृद्धिको फल उहिले फलिसक्नपर्ने थियो। दुःख कष्टका दिन भागिसक्नु पर्ने थियो।

भूतपूर्व सैनिकहरुको आँखा कान खोलिनु पर्‍यो। राजनीतिक, कुटनीतिक, सामाजिक आर्थिक, उन्नतिमा सक्रिय सहभागि भएर मातृभूमि टल्काउन चम्काउन बिलम्ब भयो। अब चेत् खुलोस्। माटोले मागेको माटोको भाषा र इशारा सबैले बुझून्।

राष्ट्र, राष्ट्रबासी र विश्व शान्तिमा समर्पित त्यागी सेनालाई किन सरकारले भरोसा गर्दैन र काखमा राखेर छुरी हानिरहन्छ? कहाँ र को बाट सञ्चालित छ हाम्रो सरकार?

यो जटिल र संवेदनशील परिस्थितिमा सेना झन बलियो होस्। सेनाको बल भनेको प्रतिबद्ध नेतृत्व, उच्च अनुशासन, हौशला र मनोबल हो। त्यो कहिल्यै नफुटोस् नघटोस्। नझुकोस्।

सेनालाई राजनीति रंगको बाछिटा नपरोस्। अन्य सुरक्षा निकायहरु पनि राजनीतिक ग्रहणबाट छिटो मुक्त हुन्।

यो सुन्दर राष्ट्र र राष्ट्रबासी, राष्ट्रिय संस्कृति र प्रकृति, इतिहास र सम्पदाको रक्षा कल्याण सम्मान गर्न नेपाली सेनाले सधैं साहसिक, प्रतिबद्ध र त्यागी सैनिक नेतृत्व पाइरहोस्।

राष्ट्रिय साँस्कृतिक मालामा सबैलाई समेटने बिश्वभरिका नेपालीहरुको आस्थाको साझा धरोहर नेपाली सेनाले समयानुकूल आन्तरिक परिवर्तन र सुधार गरेर आफूलाई एकढिक्का राख्न सकोस्।

अन्त्यमा बुबाले भन्नुभयो-“हाम्रा ७ पुस्ताका सानदार रोजगार, शिक्षादिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक सुरक्षा र आत्मसम्मानको त्यो अपूर्व अवसरको ऋण हामीले यो विराट संगठनलाई कहिले कसरी तिरिसक्नु होला? तिमीहरुले नुनको सोझो गर्नु। तिर्दै जानु। र, भात खाने तामाको थालीमा फोहोर नगर्नु। अर्को ७ पुस्तालाई पाप लाग्ने छ।

अभ्यास सहित सयौं प्याराजम्प तर सकुसल अवतरण। हजारौं बन्दुकको गोली फायर। हजारौं पाइलाको एउटै लय र चाल। एउटै आवाज। सेनाको अनुशासन र ड्रिल भनेपछि आमा र म हुरुक्कै हुन्छौं।

बुबाले प्रार्थना गर्नु भयो-सरकारसँग निरास जनसमुदायको सेनासँग धेरै अपेक्षा छ। हीरा सेनाको सरकार छिटो हीरा होस र सुन्दर शान्त विशाल मुलुकलाई हीरामा रुपान्तरण गरोस्।

हाम्रो मातृ संगठन नेपाली सेना भारतीय, बृटिश, नेपाली लगायत संसारभरिका सबै नेपाली सैनिकहरु तथा गैरसैनिक नेपाली जनताहरुको आस्था र बिश्वासको धरोहर भई सगरमाथा जस्तो अटल अमर रहिरहन सकोस्। पिताका ३ पुस्ता सामेल भएर जोडदार पुकार्‍यौं-
नेपाल, नेपाली जनता र सबै देशका नेपाली सेनाको जय जय जय होस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *