हलमै पुगी फिल्म हेरेर कलाकारलाई माया गरौंः मेयर हर्क साम्पाङ

डिसी नेपाल
३० फागुन २०८० १५:००

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली फिल्म क्षेत्रलाई समेट्ने जानकारी दिएका छन् । धरानमा गरिएको ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली फिल्मसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको बताए ।

‘नेपाली फिल्मलाई सम्बोधन गर्ने गरी म बजेटमा समेट्छु, धरानले फिल्मलाई हेर्यो र सोच्यो भन्ने आभाष पक्कै हुनेछ । म फिल्म, कला र साहित्यसँग जोडिएको र गम्भीर रुपमा सोच्ने व्यक्ति हुँ’, मेयर साम्पाङले भने,‘धरानमा फिल्म छायांकनका लागि सहज हुने गरी आफूले चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी सार्वजनिक गर्छु।’

उनले अभिनेता हरिवंश आचार्यलाई हाँस्न र बाच्न सिकाउने कलाकारका रुपमा बुझेको सुनाए। ‘कलाकारलाई माया मोबाइलमा गरेर हुँदैन, यसका लागि हलसम्म पुग्नु पर्छ । त्यसैले नेपाली फिल्म हलमै हेर्ने गरौँ, यो महाजात्रा पक्कै राम्रो बनेको छ । किनकि हरिवंश जस्तो कलाकार यत्तिकै फिल्ममा अभिनय गर्नु हुँदैन भन्नेमा विश्वस्त छु’, उनले भने ।

संवाद कार्यक्रममा अभिनेता हरिवंश आचार्यले धरानमा फिल्म ‘बलिदान’को छायाङ्कन गरेको स्मरण गर्दै छायांकनको गन्तव्यका रुपमा व्याख्या गरे। ‘यो फिल्मको लागि राम्रो स्थान हो। मेयर साबले भन्नुभए झैँ फिल्मकर्मी यहाँ गतिविधि बढाउने छन्। हामीलाई नयाँ गन्तव्य र दर्शक चाहिएको छ’, उनले भने।

फिल्म ‘महाजात्रा’का कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाले स्थानीय सरकारसँग आफूहरूले ठुलो सहयोगको भन्दा पनि हातेमालोको अपेक्षा गरेको बताए। उनले, फिल्म छायांकनका क्रममा आउँदा लोकेशनदेखि थुप्रै कुराहरूमा अन्योल हुने भन्दै त्यसमा सहजीकरण गरिदिन मेयर साम्पाङसँग अनुरोध गरे।

फिल्म ‘महाजात्रा’का नायक विपिन कार्कीले छायांकन स्थलको कहिलेकाही लफडा पर्ने बताए । उनले यसमा यसमा सहजता भयो भने काम गर्न सजिलो हुने धारणा राखे। कलाकार रवीन्द्र झाले फिल्म छायांकनका लागि स्टुडियोको आवश्यकता रहेको बताए । उनले, धरानमा पनि फिल्म स्टुडियो भएको खण्डमा काम गर्न सजिलो हुने बताए।

नायिका वर्षा राउतले पनि लोकेशनदेखि काम गर्ने सहजताका स्थानीय सरकारले काम गर्न सक्ने बताइन्। उनले महिला कलाकारहरूलाई छायांकनका समयमा थुप्रै समस्या भोग्नुपर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले समन्वय गर्न सक्ने बताइन्।

कार्यक्रममा याक्थुम चलचित्रकर्मी महासंघका अध्यक्ष नवीन मेन्याङ्बो, अनाम रंगमञ्चका अध्यक्ष विजय सुब्बा, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनक ऋषि राईले धरानमा नाटक र फिल्मको समस्या र गर्नुपर्ने कामको विषयमा चर्चा गरेका थिए । चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को टिम फिल्म प्रचारका लागि देश दौडाहामा छ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ। फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *