कविता : मातृभूमी र माटाे एउटै
तिमीले देखेको जीवन र
मैले देखेको जीवन फरक हुनसक्छ
तर मातृभूमी र माटाे एउटै हो
म आकाशमा चम्किएको जुन
र रापिलो घाममात्र नभै
मेरो मुटु भित्र
मेरो देशको नयाँ नक्साको
प्रतिबिम्बित एउटा मानचित्र भेट्छु
त्यहाँ भित्र अनगिन्ती जीवन देख्छु
कतै जवानीमै सिन्दुर पुछिएको
कतै देशको बाग्डाेर समाउने नि
भ्रष्टाचारमा मुछिएको
कतै बिश्वास गरिएकाहरुबाटै
महिला बालिकाको इज्जत लुटिएको
बिबाह गरेको केही समयमै
सानो कुरा नमिल्दा प्रेमिल जोडी छुट्टिएको।
यस्तै यस्तै बस्ती भित्र
बिसंति, तस्करी, भ्रस्टाचारी
महँगी, कालो बजारी, मौलाइ रहेको
जनता खाध्यान्न अभावमा गुज्रिएको
गास बास कपासको लागि जिन्दगी
मरुभूमिको प्रचण्ड गर्मीमा आहुती दिँदै गर्दा
पनि शाहुको रिण तिर्न नसकी
जिन्दगी नै बन्दकी राखेको
हिजो चप्पल लाउन नपाउनेहरु
आज बंगला भित्र चौरासी ब्यन्जन ज्युनार
महँगो गाडीमा भुइँ टेक्न बिर्सिएको
आफ्नो स्वार्थमा गठबन्धनको लगनगाठाे बाधेको
भुइँ मान्छेका कथा देख्ने आँखामा बादलले ढाकेको
जनताहरु महङ्गीले थलापरेको
तिमिचाँही झुपडीबाट बङलामा सरेको।
तर तिमी त कालो बादलले
आकाशलाई छपक्कै छोप्दा पनि
तिम्रो पावरको ब्रान्डेड चस्माले
जुन पनि दाग रहित भेट्छाै रे
मुटु पनि के ले बनेको होला कुन्नि
सोझा जनताका जीवनमा प्रलय आए पनि
जनताका माग सम्बोधन गर्नु त कता कता
देशको नियम पनि आफ्नै अनुकुल लेख्छाै रे।
No ads found for this position


Facebook Comment