बजेट अभावले अस्पताल भवन निर्माणमा विलम्ब

डिसी नेपाल
९ चैत २०८० ११:०१

कैलाली। जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणको काममा विलम्ब भएको छ।

बजेट अभावका कारण भवन निर्माणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ। अस्पताल भवन निर्माणका लागि संघीय सरकारले बजेट नपठाउँदा निर्माण अगाडि बढाउन समस्या भइरहेको पालिकाका इन्जिनियर योगेन्द्र भण्डारीले बताए।

चालु आर्थिक वर्ष २०८०-८१ मा संघीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाएको बताउँदै उनले बजेट निकासाका लागि कामको प्रगतिसहित स्वास्थ्य मन्त्रालयलाई पत्र पठाए पनि निकासा नभएको जानकारी दिए।

गत मंसिरसम्म निर्माण हुनुपर्ने अस्पताल बजेट अभावका कारण अलपत्र परेको हो । तोकिएको समयावधिमा निर्माण पूरा हुन नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता अवधि एक वर्षका लागि थप गरिएको छ।

निर्माण कम्पनीलाई पालिकाले रु एक करोड पेस्की दिएकोमा त्यसपछिको कामको भुक्तानी दिन नसकिएको गाउँपालिकाले जनाएको छ।

अस्पताल जगसहित जमिनमुनिको काम पूरा भइसकेकाले अन्य काम अगाडि बढाउन बजेट नआएकाले ढिलो भएको छ। मोहन्याल गाउँपालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ।

प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार मोहन्याल गाउँपालिका–६, सोल्टामा अस्पताल निर्माणको काम अगाडि बढाइएको थियो। अस्पताल भवन निर्माणका लागि प्रशंसा जेभीसँग रु छ करोडमा ठेक्का सम्झौता भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *