फिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
काठमाडौं। हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ रिलिज भएको २६ वर्षपछि पनि यस फिल्म बारे अहिले पनि विभिन्न कोणबाट चर्चा हुने गर्दछ।
सन् १९९७ मा रिलिज भएको यस फिल्ममा लियोनार्डो डिक्याप्रियोले ज्याक डसनको मुख्य भूमिका निभाएका थिए भने केट विन्सलेटले रोज डासनको मुख्य भूमिका निभाएका थिए।
हालै फिल्ममा प्रयोग गरिएका ढोकाहरूको लिलामी गरिएको छ। फिल्मको क्लाइमेक्स सिनमा रोजले टाइटानिक डुबेपछि काठको ढोकाको सहायताले आफ्नो जीवन बचाउँछिन् । हालै फिल्ममा प्रयोग गरिएको सोहि ढोका लिलामीमा ७ लाख १८ हजार ७५० डलरमा बिक्री भएको थियो।
हलिउड रिपोर्टरका अनुसार, लिलामीको समयमा धेरै फ्यानहरूले यो केवल काठको प्यानल ढोका भएको र फिल्म निर्माणका लागि बनाइएको सोचेका थिए। यद्यपि, हेरिटेज अक्सन ट्रेजर्सले यो ढोका वास्तविक टाइटानिकको प्रथम श्रेणीको लाउन्ज प्रवेश द्वारको माथि अवस्थित रहेको जानकारी दिएको छ।
यसबाहेक फिल्ममा रोजको भूमिका निभाएकी अभिनेत्री केट विन्सलेटले लगाएको शिफन पोशाक पनि लिलामी गरिएको छ। यो एक लाख २५ हजार डलरमा बिक्री गरिएको छ।
हेरिटेज अक्सनले टाइटानिक फिल्मका यी सामाग्रीको अक्सनबाट कुल ८ लाख ४३ हजार ७५० डलर संकलन गरेको बताएको छ। अर्थात टाइटानिकमा प्रयोग भएको ढोका र अभिनेत्री केटको ड्रेसलाई नेपाली रुपैयाँ ११ करोड २५ लाख ३४ हजार ८१८ मा बिक्री गरिएको छ।
सन् १९९८ को ओस्कार अवार्डमा ‘टाइटानिक’ ले १४ वटा मनोनयनमध्ये ११ अवार्ड जितेको थियो। यो जेम्स क्यामरुनको ‘अवतार’, ‘अवतार: द वे अफ वाटर’ र ‘एभेन्जर्स: एन्डगेम’ पछि विश्वमा चौथो सबैभन्दा धेरै कमाउने फिल्म हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment