नाउपामा झनझन चर्किंदै विवाद: आफ्नै पार्टी कार्यालयमा कुटिए नेताहरू

डिसी नेपाल
२० चैत २०८० ७:१२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा विवाद चर्किंदै गएपछि पार्टी कार्यालयमै नेताहरू कुटिएका छन् । पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवाद चर्किंदै गएपछि सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच नै कुटाकुट भएको हो । रेशमलाल र रञ्जिता श्रीमान्–श्रीमती हुन् ।

काठमाडौंको अनामनगर केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठक बस्नुअघि भइरहेको छलफलका क्रममा आफूहरूमाथि कुटपिट भएको संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताए । पत्रकार सम्मेलनमार्फत विश्वकर्माले आफूहरूलाई कुटपिट गरिएको र ज्यान मार्ने धम्की दिइएको बताएका छन् ।

पार्टी कार्यालयको मूलढोका बाहिरबाट बन्द गरेर आफूहरूमाथि भौतिक आक्रमण भएको उनले बताए । विश्वकर्माले प्रधानमन्त्री निवास बालुवाटार गएमा बाहिर निस्किँदा पिट्ने धम्की दिएको र सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहको सरकार ढल्यो भने हत्यासमेत हुनसक्ने भनेर चौधरीले धम्की दिएको बताए । यद्यपि, चौधरीले माफीसमेत मागेको विश्वकर्माले बताए ।

‘घरको एक्जिट ढोका बाहिरबाट बन्द थियो, संस्थापक केन्द्रीय सदस्यबाहेक बाहिरका मान्छेहरू पनि थिए, त्यसैले उहाँ (रेशम चौधरी)ले सुनियोजित ढंगले आक्रमण गराएको हो भन्ने लाग्छ,’ विश्वकर्माले भने, ‘हामीलाई ज्यान मार्ने धम्कीसमेत दिइएको छ ।’

नाउपाका अर्का संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूले बैठक बिहान ८ बजे बोलाइएको तर अध्यक्ष श्रेष्ठ आइपुग्न केही ढिला हुने भएपछि आफूहरू संरक्षक चौधरीसँग अनौपचारिक छलफलमा रहेकै बेलामा कुटपिट भएको बताए ।

‘रेशम दाइसँग पार्टीको अबको बाटो के हुने भनेर छलफल गरिरहेका थियौं, संघ र प्रदेशमा फरकफरक गठबन्धनलाई साथ दिन नैतिकताले दिँदैन भनिरहेका थियौं, संघ र प्रदेशमा एउटै गठबन्धनमा सहभागी होऔं भनिरहेका थियौं,’ थारूले भने, ‘महाधिवेशनबाट निर्वाचित भएका तर निर्वाचन आयोगले मान्यता नदिएका केन्द्रीय सदस्यलाई वैध बनाउने उपाय र पार्टीमा अहिले देखिएका विवादको विषयमा छलफल गरिरहेका थियौं, त्यसैक्रममा रेशम दाइकै उपस्थितिमा दुर्घटना घट्न गयो, दुःखद् घटना घट्यो, नघट्नुपर्ने घटना घट्यो ।’

अध्यक्ष श्रेष्ठ आफूमाथि आक्रमण भएको आधा घण्टापछि आइपुगेको उनले बताए । त्यतिबेलासम्म आफ्नै पार्टी कार्यालयमा आफ्नै नेताहरूको संलग्नतामा आफूहरूमाथि कुटपिट गर्ने काम हुनुले आफूहरू असुरक्षित रहेको उनले बताए । महाधिवेशनले चयन गरेको केन्द्रीय समितिलाई निर्वाचन आयोगले वैधता नदिएपछि नाउपामा संस्थापक केन्द्रीय समिति क्रियाशील छ । तर, सोमबारको बैठकस्थलमा भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सदस्यहरू पनि उपस्थित भएको थारूले बताए ।

‘उहाँहरू किन आउनुभयो ? कसरी आउनुभयो ? त्यो थाहा भएन, तर उहाँहरूले यो पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको मात्रै होइन, हाम्रो पनि हो भन्न थाल्नुभयो,’ थारूले भने, ‘हामीले त्यस्तो कहिल्यै भनेकै थिएनौं, बरु उहाँहरूलाई वैध बनाउने उपाय खोजिरहेका छौं ।’

तर, उनीहरू एक्कासि आक्रमणमा उत्रिएको थारूले बताए । ‘रेशम चौधरीकै उपस्थितिमा आक्रमण हुनु भनेको सुनियोजित हो भन्ने लाग्छ,’ उनले भने । नाउपामा पछिल्लो समय चौधरी र श्रेष्ठ पक्षबीच विवाद चर्किंदै गएको छ । अध्यक्ष श्रेष्ठ संघदेखि प्रदेशसम्म एउटै गठबन्धनलाई साथ दिनुपर्ने पक्षमा छिन् । सोहीनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिलाएकी छन् । उनी सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ गठबन्धनलाई सघाउनुपर्ने पक्षमा छिन् ।

तर, पार्टीका संरक्षक रहेका चौधरी भने संघमा कुनै गठबन्धनमा लाग्न नहुने र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै साथ दिनुपर्ने पक्षमा छन् । सोहीनुसार उनले सरकारमा आफूनिकटका मन्त्रीहरू पनि पठाएका छन् । ती मन्त्रीलाई फिर्ता आउन र सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठले निर्देशन दिँदै आएकी छन् ।

नाउपा गठन हुँदा संरक्षकमा चौधरी र अध्यक्षमा श्रेष्ठ थिए । पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्ष चयन गरेको थियो । नयाँ केन्द्रीय समिति पनि निर्वाचित गरेको थियो । त्यसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई निवेदन दिइएको थियो । तर, आयोगले चौधरी अध्यक्ष हुन नसक्ने निर्णय गरेको थियो । जसकारण अहिले नाउपामा पुरानै केन्द्रीय समिति ब्युँतिएको छ । जसको अध्यक्ष श्रेष्ठ हुन् । उनले सोही समितिको बैठक राखेर निर्णय गर्दै आएकी छन् ।

यता, नाउपाका संरक्षक चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पु¥याएको जनाएका छन् । उनले आफूलाई सधैं जेलमा राख्ने नियत बोकेकाहरूले ‘ज्यान मार्ने धम्की’ दिएको भन्ने भ्रामक कुरा फैलाएको जनाएका छन् ।

‘पार्टीको बैठकमा कसले कसलाई हातपात ग¥यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन्, जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूका पछाडि हामी लाग्दैनौं, अनावश्यक हो हल्लाको पछि नलागौं, २३ र २४ चैतमा हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ, त्यही स्विकार्ने हो, पार्टी कसैको पेवा होइन, पहिचानवादीहरूको साझा आवाज हो,’ घटनापश्चात चौधरीले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार बिहान सरकारमा जाने नजाने विषयमा सामान्य विवाद भएको भने स्पष्ट पारेका छन् । ‘सरकारमा जाने नजाने विषयमा वादविवाद भएको साँचो हो, महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरूले हैसियत पनि खोज्नुभएको साँचो हो, हैसियत खोज्दा वादविवाद भएकै हो, तर बैठकमै सहभागी भएका साथीहरूले भ्रामक कुरा फैलाउनुभयो,’ संरक्षक चौधरीले भने, ‘मलाई सधैं जेलमा राख्ने नियत बोकेकाहरूले त्यस्ता भ्रम फैलाइरहेका छन् ।’

उनले पार्टीभित्रको आन्तरिक विवादले आफूले तीन महिनादेखि राम्रोसँग खाना खान नसकेको दुखेसो गरेका छन् । उनले एमाले–माओवादी गठबन्धनले नाउपा चलाउन खोजेको आरोपसमेत लगाए । उनले पार्टी संस्थापक अध्यक्षसमेत रहेकी श्रीमती श्रेष्ठलाई पदीय लोलुपतामा फसेको आरोप लगाए । अर्काको इशारामा चल्ने सबैलाई कारबाहीको चेतावनीसमेत उनले दिए । चौधरीले पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । यही २३ र २४ चैतमा केन्द्रीय समितिको बैठक चौधरी पक्षले बोलाएको छ । सोही बैठकबाट पार्टीको निर्णय कार्यान्वयन नगर्नेलाई कारबाही पनि हुने चेतावनी उनले दिएका छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *