गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नै दोहोरिने सम्भावना

डिसी नेपाल
२२ चैत २०८० ७:४८

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिएका छन् । उनको राजीनामासँगै नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि नेपालको संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन बुधबार आह्वान गरेका हुन् । उनले सरकार गठनका लागि २७ चैत दिउँसो ३ बजेसम्मको समयसीमा दिएका छन् ।

साथै, प्रदेश प्रमुख भट्टले प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधान धारा १६९ उपधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी तोकेका छन् ।

संसद्मा विश्वासको मत प्राप्त गर्न नसक्ने देखेपछि बुधबार ११ बजे सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । पछिल्लो समय केन्द्रमा सत्ता समीकरण फेरबदल हुँदा प्रदेश सरकार पनि डगमगाएका छन् । मुख्यमन्त्री पाण्डेले गत २२ फागुनमा माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेको भोलिपल्टै माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे सरकार अल्पमतमा परेको थियो ।

उनले २२ चैतभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर, आफूलाई विश्वासको मत नआउने देखेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति उनको छ । गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । ६० सदस्यीय प्रदेशसभामा नयाँ सरकार बनाउन ३१ जना सदस्यसहितको बहुमत चाहिन्छ । एमाले–माओवादीसहितको नयाँ गठबन्धनलाई पनि गण्डकीमा सरकार बनाउन सजिलो छैन । यहाँको सबैभन्दा ठूलो दल कांग्रेससँग २७ सांसद छन् । जबकि, एमालेका २२ सांसद र माओवादीका (सभामुखबाहेक) ७ प्रदेश सांसद छन् भने राप्रपाका २ सांसद छन् ।

मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) पछिल्लो समय एकीकृत समाजवादीमा प्रवेश गरेकामा फेरि स्वतन्त्र रहने भन्दै संसद् सचिवालयमा पत्र बुझाएका थिए ।

मुख्यमन्त्री पाण्डेले सरकार टिकाउन त्यसको भोलिपल्टै मनाङेलाई महत्वपूर्ण भौतिक पूर्वाधारमन्त्री बनाएका थिए । सरकार गठन प्रक्रियामा कांग्रेसलाई दीपक मनाङे र राप्रपाका दुईले साथ दिए पनि बहुमत पुग्दैन ।

गत वर्ष माओवादीको चुनाव चिह्नबाट निर्वाचित बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले पाण्डे सरकारलाई सहयोग गर्ने आशा पनि पाण्डेलाई नभएको होइन ।

गण्डकी सरकार गठनमा निर्णायक राप्रपाले २७ चैतमा काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरिरहँदा तत्काल सरकारमा जाने सोच नरहेको स्पष्ट पारिसकेको छ । संविधानको धारा १६८(२) बमोजिम नयाँ गठबन्धनले सरकार बनाउन नसके नेपालको संविधान १६८(३) बमोजिम ठूलो दलको हैसियतले पाण्डे नै दोहोरिने सम्भावना जीवित छ ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *