हेपाटाइटिस भाइरसबाट दैनिक तीन हजार ५०० मानिसको ज्यान जाने गर्छ– डब्ल्यूएचओ

डिसी नेपाल
२७ चैत २०८० २०:५५

जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो संख्या बढिरहेको मंगलबार चेतावनी दिएको छ। संगठनले दोस्रो सबैभन्दा ठूलो संक्रामक हत्यारा यस भाइरससँग लड्न छिटो कारवाही गर्न आग्रह गरेको छ।

यस साता पोर्चुगलमा भएको विश्व हेपाटाइटिस शिखर सम्मेलनका साथ जारी डब्ल्युएचओको प्रतिवेदनअनुसार सन् २०२२ मा एक सय ८७ मुलुकको तथ्यांकले भाइरल हेपाटाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १३ लाख पुगेको देखाएको छ। डब्ल्यूएचओको ग्लोबल एचआईभी, हेपाटाइटिस र यौन सञ्चारित सङ्क्रमण कार्यक्रम प्रमुख मेग डोहर्टीले यो डरलाग्दो प्रवृत्ति भएको बताए।

प्रतिवेदनमा हेपाटाइटिस संक्रमणबाट विश्वभर दैनिक तीन हजार पाँच सयको मृत्यु हुने गरेको र त्यसमा ८३ प्रतिशत हेपाटाइटिस बी र १७ प्रतिशत हेपाटाइटिस सीबाट हुने उल्लेख छ।

प्रतिवेदनमा प्रभावकारी र सस्तो जेनेरिक औषधिले यस्तो भाइरसहरूको उपचार गर्न सकिने र सन् २०२२ मा पुरानो हेपाटाइटिस–बी बाट संक्रमण भएकामध्ये तीन प्रतिशतले मात्र उपचार पाएको उल्लेख छ। हेपाटाइटिस–सीबाट सङ्क्रमितमध्ये २० बीस प्रतिशतको उपचार गरिएको थियो।

‘हेपाटाइटिसको सङ्क्रमणलाई रोक्न विश्वव्यापी रूपमा प्रगति भए पनि मृत्युदर बढ्दै गएको छ’, डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक विज्ञप्तिमा भने।

अफ्रिकामा पाँचमध्ये एक शिशुलाई जन्मको समयमा खोप लगाइए पनि नयाँ हेपाटाइटिस–बी संक्रमणको ६३ प्रतिशत मामिला देखिएको प्रतिवेदनमा उल्लेख छ। संयुक्त राष्ट्र एजेन्सी डब्ल्युएचओले प्रभावित देशहरूसँग जेनेरिक हेपाटाइटिस औषधिमा पर्याप्त पहुँच नभएकामा पनि दुःख व्यक्त गरेको छ।

प्रतिवेदनअनुसार कूल हेपाटाइटिसका दुई तिहाइ केस बंगलादेश, चीन, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, रुस र भियतनाममा छन्। सन् २०२५ सम्ममा यी १० देशमा हेपाटाइटिस रोकथाम गर्न र उपचारमा विश्वव्यापी पहुँच पुयाउन आवश्यक रहेको डब्ल्यूएचओले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *