बागमती प्रदेशमा लागुऔषधको कारोबार बढ्दो, मकवानपुर केन्द्रविन्दु

डिसी नेपाल
३ वैशाख २०८१ ११:४९

हेटौंडा। बागमती प्रदेशमा लागुऔषध कारोबारको विकराल समस्या बढ्दो छ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म प्रहरीले प्रदेशभरबाट ४ हजार ९ सय ५४ किलोग्राम विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ भने कारोबारमा संलग्न १ हजार ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

जिल्लागत तथ्यांकलाई हेर्दा मकवानपुर जिल्ला लागुऔषध कारोबारको केन्द्रविन्दुको रूपमा उदाउँदै गएको छ।

यस जिल्लाबाटै चालु आर्थिक वर्षको फागुनसम्म २ हजार ३ सय ९५ केजी लागूऔषध बरामद भएको छ भने १ सय ९९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। यसबाट स्पष्ट देखिन्छ कि मकवानपुर प्रदेशभरको सबभन्दा ठूलो लागूऔषध कारोबारको केन्द्र बनेको छ।

लागूऔषध कारोबारमा सबैभन्दा सक्रिय अर्को जिल्लाको रुपमा चितवन देखिएको छ। चितवनबाट फागुनसम्म १ हजार १ सय १७ केजी लागूऔषध बरामद भएको छ भने १ सय ३ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैगरी, धादिङ जिल्लाबाट ७ सय ६० केजी लागूऔषध बरामद भई ३५ जना कारोबारी पक्राउ परेका छन्।

काठमाडौंबाट प्रहरीले १ सय ६३ केजी लागूऔषध मात्र बरामद गर्न सफल भए पनि ५१६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। काठमाडौंबाट केही कोकिन र पोल्याण्ड लागुऔषध पनि बरामद गरिएको छ।

काभ्रे र भक्तपुरमा क्रमशः ३२० र १ केजी लागूऔषध बरामद गरिएको छ भने ३१ र ४७ जना पक्राउ परेका छन्। सिन्धुली र ललितपुरमा क्रमशः १६३ र ३१ केजी लागूऔषध बरामद भई २१ र ९४ जना पक्राउ परेका छन्। भक्तपुर र ललितपुरमा पनि केही मात्रामा पोल्याण्ड बरामद गरिएको छ । रामेछापबाट भने १ केजी लागुऔषध र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रसुवा र नुवाकोटमा लागुऔषधको कारोबार भए पनि त्यहाँ यसको मात्रा भने ग्राममा गणना छ। दोलखा र सिन्धुपाल्चोकमा भने उक्त संख्या सुन्य छ।

अन्य प्रदेशको तुलनामा बागमतीमा लागुऔषधको समस्या बढी देखिएको कोशी, मधेश, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका तथ्यांकले देखाउँछ। जसअनुसार कोशीमा ४ हजार ३ सय ५२ केजी, मधेशमा ४ हजार ३ सय ३१ केजी, सुदूरपश्चिममा १ सय ६३ केजी, गण्डकीमा १ सय १७ केजी, लुम्बिनीमा १ सय ११ केजी र कर्णालीमा १४ केजीमात्र लागुऔषध बरामद भएको छ। पछिल्लो ५ बर्षको तथ्यांक हेर्दा पनि बागमती प्रदेश अगाडि नै देखिन्छ।

यसरी बागमती प्रदेशभित्र विशेषगरी मकवानपुर, चितवन र धादिङलगायतका केही जिल्लाहरू लागुऔषध कारोबारको केन्द्रविन्दुको रूपमा बनेका छन्। यस प्रदेशभित्र मात्रै पनि बर्सेनि लागुऔषध कारोबारको मात्रा बढ्दै गएको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *