‘बोक्सीको घर’को ट्रेलर यतिबेला चर्चामा

डिसी नेपाल
४ वैशाख २०८१ १०:०६

काठमाडाैं। वैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘बोक्सीको घर’को ट्रेलर यतिबेला चर्चामा छ। ट्रेलरमा फिल्मकी अभिनेत्री केकी अधिकारीको अभिनयलाई फिल्मकर्मीसँगै दर्शकले अत्यन्त रुचाएका छन् ।

नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा दरबारमार्गमा रहेको एलओडीमा नयाँवर्ष मनाउन उपस्थित दर्शकमाझ पनि फिल्मको ट्रेलर देखाइएको छ। ट्रेलर सार्वजनिक भइरहँदा उपस्थित व्यक्तिहरुले तालीले ट्रेलरको तारिफ गरेका थिए।

उक्त कार्यक्रममा फिल्मकी निर्मात्रीसमेत रहेकी केकीसहित फिल्म युनिटको उपस्थिति थियो। ‘ट्रेलर सार्वजनिक भइरहँदा उहाँहरुले ट्रेलर मनपराइदिनुभयो। मेरो अभिनयसँगै ट्रेलर मेकिङ, अन्य कलाकारको काम र त्यसमा प्रयोग गरिएको ध्वनिको तारिफ गरेको पाएँ’, उनले भनिन्, ‘हामीले फिल्मको प्रचारका लागि फरक किसिमको मार्केटिङ गरिरहेका छौं । त्यही मार्केटिङको योजना अनुरुप एलओडीमा ट्रेलर देखाएका हौं।’

फिल्मको टिजर, ट्रेलर र पोस्टरले चर्चा पाइरहँदा केही समयअघि सार्वजनिक ‘बुझिन मैले’ गीत यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको छ। गत वर्षको होलीमा सार्वजनिक अभिनेत्री केकीको ‘बोक्सी’ लुक्सले पनि उत्तिकै चर्चा पाएको छ।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ। अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन्।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ। फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन्।

फिल्ममा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ। लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ। टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *