इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

डिसी नेपाल
६ वैशाख २०८१ १०:०९

काठमाडौं। नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’। कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली, त्यहाँ राजेशपायल राई’ भन्दा फरक नपर्ला।

‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल राई नपुगेको र सांगीतिक कार्यक्रम नगरेको देश सायदै होला। नेपालीहरु विश्वको कुन-कुनासम्म पुगेका छन्, जहाँ-जहाँ राजेशपायलले कार्यक्रम गरिसकेका छन्।

यसैक्रममा नेपाली सांगीतिक क्षेत्रका यी ‘मेगास्टार’ अप्रिल अर्थात शुक्रबार इराकमा प्रस्तुत हुँदैछन्। हङकङ, मकाउ हुँदै इराक पुगेका राजेशपायलले भने, ‘संसारका अधिकांश देशमा सांगीतिक कार्यक्रम गरिसकेको छु। तर, इराकमा पहिलोपटक प्रस्तुत हुन लागेको हुँ।’ इराकको विमानस्थल टेक्दा राजेशपायललाई त्यहाँ रहेका नेपालीले भव्य स्वागत गरेका थिए।

गायक राजेशपायलले इराकको कुर्दिस्तानमा कार्यक्रम गर्न लागेका हुन्। जहाँ, इराकी आतंककारी समूह ‘अन्सर अल सुन्ना’ले २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या गरेका थियो।

१२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममा थुप्रै नेपाली इराक पुगेका छन् । उनीहरुकै अनुरोधमा सांगीतिक प्रस्तुती दिन राजेशपायल त्यहाँ पुगेका हुन्। इराकमा पनि आफ्ना नयाँ पुराना गरी डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए।

राजेशपायल आफ्ना नयाँ तथा पुराना गीतबाट सदावहार चर्चामा रहँदै आएका छन्। उनका फ्यान तथा शुभचिन्तक संसारभर छन् । उनी कन्सर्ट सर्वाधिक रुचाइने नेपाली कलाकार पनि हुन् । त्यसैले पनि उनी बाह्रै मास देश–विदेशको कार्यक्रममा व्यस्त हुँदै आएका छन्।

राजेशपायलले भने, ‘अमेरिकामा १७औँ पटक कार्यक्रम गरिसकेँ, तर इराकमा पहिलोपटक गर्दैछ, यो मेरो लागि पक्कै स्मरणीय हुनेछ र दर्शकलाई पनि अविस्मरणीय तुल्याउने प्रयास गर्नेछु ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *