‘यौटा सपनाको अवसान’ को लिरिकल भिडियो सार्वजनिक

डिसी नेपाल
१२ वैशाख २०८१ १०:५३

काठमाडौँ। नयाँ वर्षबाट कान्तिपुर सिनेमाजबाट प्रसारण भएको वेबप्ले सिरिज ‘यौटा सपनाको अवसान’को लिरिकल भिडियो सार्वजनिक भएको छ।

‘आऊ हजुर आऊ’ बोलको सार्वजनिक गीतमा न्ह्यू बज्राचार्यको संगीत, विप्लल प्रतीकको शब्द र शारदा अधिकारीको स्वर रहेको छ। लिरिकल भिडियोमा मञ्चनको समयका विशेष मुद्रालाई समावेश गरिएको छ। ‘यौटा सपनाको अवसान’ नाटकलाई सिरिजको रुपमा रुपान्तरण गरिएको सिर्जना हो।

गायिका शारदा अधिकारीले गीतले आफ्ना धेरैवटा सपना एकसाथ पूरा गरेको बताएकी छिन्। डोरेमी संगीत पाठशालाबाट गायनको प्रशिक्षण लिएकी शारदा ११ वर्षदेखि थिएटरमा सक्रिय छिन् । उनले यो गीतले आफ्नो ११ वर्षदेखिको सपना पूरा गरेको बताइन्।

‘न्ह्यू बज्राचार्य संगीत र अनुप बराल मेरो नाटकको गुरु हुनुहुन्छ। यो गीतले दुवै गुरुसँग काम गर्ने अवसर जुराएको थियो । त्यसैले यो गीत मेरा लागि एकदमै विशेष छ ,’ उनले भनिन्, ‘ गीत रेकर्डिङको समयमा सक्दिन कि भनेर थोरै नर्भस पनि भएकी थिएँ। तर न्ह्यू सरको ढाडसले अप्ठेरो नै चाहिँ भएन ।’ शारदाले नाटकमा अभिनय पनि गरेकी छिन्।

नाटक गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन भएको थियो। निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले नाटकघरको मञ्चन छुटाएका दर्शकलाई लक्षित गर्दै नाटकलाई नयाँ स्वरुपमा पस्किएको जानकारी गराएको हो।

निर्माता गोविन्द पराजुलीले नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयास स्वरुप ‘यौटा सपनाको अवसान’लाई ओटिटीमा रिलिज गरिएको बताएका छन्। सिरिजले ओटिटीमा उत्साहजनक दर्शक पाइरहेको उनको दाबी छ।

वरिष्ठ नाटय निर्देशक अनुप बरालले निर्देशन गरेको यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ। १ महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय रहेको छ।

नाटकमा न्हयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन्। सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा उपलब्ध छ।

नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन्। कालान्तरमा यसले नाटकको डिजिटल बजार निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *