मोबाइल चोरी भएपछि उजुरी गर्न जाँदा प्रहरी चौकी बाहिरबाट मोटरसाइकल पनि चोरी !

डिसी नेपाल
२८ वैशाख २०८१ १३:२२

काठमाडौं । मोबाइल चोरी भएपछि यसको उजुरी गर्न प्रहरी चौकी गएका एक व्यक्तिले प्रहरी चौकीबाहिर मोटरसाइकल पार्किङ गरेर भित्र उजुरी लेखाउन गए । उजुरी दिएर बाहिर निस्किँदा बाहिर राखिएको मोटरसाइकल पनि चोरी भइसकेको थियो ।

घटना भारतको मध्य प्रदेशको राजगढ जिल्लाको हो । यहाँको पाचोर भन्ने ठाउँमा चोरहरूले प्रहरीलाई कडा चुनौती दिएका हुन्। कानूनको डर नमानेर चोरहरुले पहिले एक व्यक्तिको मोबाइल चोरेका थिए ।

उजुरी दिन प्रहरीमा जाँदा प्रहरी चौकीबाहिर पार्किङमा राखिएको उनको मोटरसाइकल पनि लुटेराले चोरेर लगेका थिए । अहिले प्रहरीले यस विषयमा अनुसन्धान गर्ने बताएको छ ।

जिल्लाको पाचोर सहरको यो घटनाले चोरहरुको साहस कति उच्च छ भन्ने देखाएको छ । जेडी मार्केटस्थित मदिरा पसलको अगाडि सुनिल तोमर नामका व्यक्तिको मोबाइल फोन कसैले गोजीबाट निकालेको थियो । त्यसपछि केही व्यक्तिले उजुरीकर्तालाई मोबाइल चोरी भएको विषयमा प्रहरी चौकीमा खबर गर्न आग्रह गरे ।

घटनास्थलबाटै उजुरीकर्ता सुनिल तोमर आफ्नो मोटरसाइकलमा नचिनेका व्यक्तिसँग प्रहरी चौकी पुगेका थिए । यी व्यक्ति मोबाइल चोरी भएको ठाउँमा भेटिएका थिए र उनले पनि प्रहरीमा खबर गर्न सल्लाह दिएका थिए ।

प्रहरी चौकी बाहिर मोटरसाइकल पार्क गरेपछि उनी भित्र पसे । त्यहाँ तैनाथ प्रहरी अधिकृतले मोबाइल चोरीको विषयमा निवेदन लेख्न भने । निवेदन दिएपछि उजुरीकर्ता बाहिर निस्कँदा उनको मोटरसाइकल र उनीसँगै आएका अपरिचित व्यक्ति दुवै भेटिएनन् ।

अप्ठ्यारोमा परेका उजुरीकर्ता सुनिल फेरि प्रहरी चौकीभित्र गएर मोबाइलसहित मोटरसाइकल पनि चोरी भएको भन्दै निवेदन दिए । प्रहरीले अहिलेसम्म मोबाइल वा मोटरसाइकल चोरीको उजुरी दर्ता गर्नेलगायत खोजीमा गम्भीरता नदेखाएको उजुरीकर्ता सुनीलको आरोप छ ।

अर्कोतर्फ पाचोर प्रहरी चौकी इन्चार्ज आकांक्षा शर्माले घटनाको अनुसन्धान भइरहेको र चोरीको मोटरसाइकल र मोबाइलको खोजी भइरहेको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *