फिल्म ‘फर्की फर्की’बाट नेपाली फिल्ममा डेब्यू गर्दै समृद्धि अर्याल

डिसी नेपाल
७ जेठ २०८१ १०:१८

काठमाडौं। समृद्धि अर्याल हङकङमा जन्मिइन्, भारतमा पढिन्। भारतमा अभिनयको अध्ययन गरेकी उनी यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’बाट नेपाली फिल्ममा डेब्यू गर्दैछिन्। हङकङमा रहँदा उनको परिवारले अभिनेता अनमोल केसीको कुरा गर्थे। अहिले समृद्धि अनमोल अभिनित फिल्म ‘फर्की फर्की’बाट नै नेपाली फिल्ममा पाइला चाल्दैछिन्।

‘फिल्ममा म जसिता गुरुङको साथीको भूमिकामा देखिँदैछु। आफ्नो साथीको लागि जे पनि गर्न सक्ने किसिमको क्यारेक्टर छ। साथीको राम्रो होस् भनेर चिताउने क्यारेक्टर छ’, उनी भन्छिन्, ‘म रियल लाइफमा धेरै बोल्दिनँ । तर फिल्ममा अलिक फरक देखिएकी छु।’

फिल्मको सुटिङमा उनको पहिलो सट अभिनेत्री जसितासँग रहेछ। ‘मेरो पहिलो सट नै जसितासँग थियो। केही नर्भस पनि थिएँ। तर आफूलाई सम्हाल्नुपर्छ भन्ने लागेपछि म सम्हालिएँ’, उनले भनिन्।

समृद्धिका लागि ‘फर्की फर्की’ यात्रा रोचक छ। एकदिन उनी र उनकी आमा लाजिम्पाटमा थिए। सोहीबेला निर्माता अर्जुन कुमारले उनलाई निर्माता रोहित अधिकारीले एउटा क्यारेक्टरका लागि अडिसन मागिरहेको बताएपछि समृद्धिलाई ‘तिमी गर्छौ ?’ भनेर सोधेका थिए।

‘मलाई कस्तो फिल्म, कसको फिल्म भन्ने थियो । अर्जुन अंकलको भनाई अनुसार रोहित दाईलाई भेटेपछि उहाँले ‘टाइम ट्राभलको मुभी हो । क्यारेक्टर सेकेण्ड लिड छ’ भन्नुभयो। म जसिताको साथी भनेपछि यति ठूलो मौका हत्तपत्त कसैले पाउँदैन । मैले गरेको राम्रो हुन्छ भनेर अडिसन दिएँ अनि छानिएँ’, उनले भनिन्।

अभिनयप्रति समृद्धिलाई सानैदेखि रुची थियो। उनले मोडलिङ हल्काफूल्का सिके पनि कलाकार हुन्छु भन्ने उनलाई लागेको थिएन। तर बुवाले मुम्बईमा अभिनयको इन्स्टिीच्यूट खोजेर उनलाई भर्ना गरिदिए। त्यहाँ उनले तीन वर्ष अभिनय कक्षा लिइन्।

‘तीन वर्षको अध्ययन पछि कसरी अगाडि बढ्ने, कसरी काम गर्ने भन्ने कुरा बुझ्ने मौका पाएँ। क्यामराको अगाडि कसरी अभिनय गर्ने भनेर बढी सिकें। क्यामरासँगै थिएटर अभिनय पनि सिकाउँथे। कलेजमा मैले ६ वटा छोटा फिल्ममा काम गरेको थिएँ। त्यसपछि विस्तारै आत्मविश्वास बढ्यो’, उनले भनिन्।

समृद्धि आफ्नो कामबाट खुशी छिन्। नाम चलेका कलाकारसँग ठूलो ब्यानरमा अभिनय गर्न पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छिन्। निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र फिल्मका कलाकारको काम गर्ने शैलीबाट उनी प्रभावित रहिछन्।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *