सार्वजनिक खपतका लागि जे पनि बोल्ने गगन-रवि, एकअर्कालाई आरोपित गर्दै सही बन्ने दाउ

शरद रिजाल
८ जेठ २०८१ १४:४७

काठमाडौं। नेपाली राजनीतिमा वाककलाले स्थापित कांग्रेस महामन्त्री गगन थापा र सञ्चार क्षेत्रमा वाकपटुकता प्रदर्शन गर्दै राष्ट्रिय राजनीतिको यात्रा तय गरेका गृहमन्त्री रवि लामिछाने आमने सामनेको अवस्थामा पुगेका छन्।

देशभरका विभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएको भन्दै कांग्रेस महामन्त्री थापाले लामिछाने विरुद्ध आक्रोश व्यक्त गरिरहेका छन्। राजनीतिक रुपमा एक अर्काप्रति शत्रुताको व्यवहार गर्दै हदैसम्मको आरोप प्रत्यारोपमा अहिले यी दुबै जना उत्रिएका छन्।

एकले अर्कालाई आरोपित गरेर आफू सही सावित हुने ध्याउन्नमा नेताद्वयको सक्रियता देखिएको छ। रवि गगनको प्रोक्सी वारले राजनीतिक बजार केही समय यता निकै तातेको छ।

गगनले केही समय अघि सहकारी प्रकरणमा रविको प्रत्यक्ष संलग्नता रहेको सप्रमाणसहित आफू संसदमा उपस्थित भएको अभिव्यक्ति दिएका थिए।

उनको सो अभिव्यक्ति पछि रास्वपाका सभापति रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेले थापालाई चुनौती दिँदै सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता रहेको यथेष्ट प्रमाण पेश गरे राजनीति छाड्ने उद्द्धोष गरेका थिए।

उनले यदि प्रमाण पेश गर्न असमर्थ भए थापालाई राजनीति छा्डने सम्मको चुनौती दिएका थिए। यही आइतबार पनि सदनमा लामो अवरोध पछि बोल्ने अवसर पाएका गृहमन्त्री लामिछानेले थापाविरुद्ध आगो ओकलेका थिए।

महामन्त्री थापाविरुद्ध बारम्बार लाग्दै आएको बाख्रापालनमा कृषि अनुदान लिएर अपचलन गरेको विषयदेखि विद्यार्थी राजनीति गर्ने समयका अनेकौं अनियमितता गरेका प्रकरण कोट्याउन भ्याए।

उनले थापा लक्षित देशको सूचना विदेशीलाई बचेको जस्तो गम्भीर आरोप समेत लगाएका थिए। यद्यपि सार्वजनिक रुपमा लगाइएका ती आरोपहरु पुष्टि गर्ने हिम्मत भने सदनबाट व्यक्त गर्ने साहस लामिछानेले प्रदर्शन गर्न सकेनन्। बहालवाला गृहमन्त्री रहेका लामिछानेले त्यो हिम्मत गर्न नसकेर विषय मात्रै उठान गर्नुले उनको अभिव्यक्ती फगत प्रचारमुखी मात्रै रहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

मुलुकको गृहमन्त्रीले राष्ट्रिैय हित विपरितका गतिविधि विगतमा गरेको सुइँको पाउँदा पनि किन अनुसन्धान गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता नगरेरै सार्वजनिक रुपमा संसदको रोष्ट्रमबाट मात्रै ती विषय व्यक्त गरेका छन्।

कुनै व्यक्ति लक्षित देशका सूचना बेच्ने गरेको संवेदनशील आरोप लगाएका उनले त्यो आरोपको अनुसन्धान गरेर कारबाही गर्ने दायित्वबाट विमुख भएर सार्वजनीकरण गर्ने स्थान उनको होइन।

कानूनी राज परिपालन गराउने तालुकदार गृहमन्त्रालयको नेतृत्व गरेका उनले मुलुकको हित प्रतिकूलकार्य विगतमा गरेको जानकारी भए पछि पनि अनुसन्धान नगरेरै किन सार्वजनिक प्रचारको विषयमात्रै बनाए?

सार्वजनिक खपत र चर्चाका लागि मात्रै बोलेका हुन् भने गृहमन्त्री रहेका लामिछानेको निरीहता र मुलुकप्रति गम्भीर अपराध गरेको ज्ञात हुँदा पनि कारबाही गर्ने असमर्थाले उनी स्वयम्ले पदीय दायित्व बहन गर्न नसकेको प्रमाणित हुन्छ। यस्तो गम्भीर विषय उठान गरिसेकेपछि त्यसको निरुपण गर्नु अपरिहार्य छ।

समयावधिका आधारमा अपरााध कर्ममा छुट र अनविज्ञता स्वीकार्य हुँदैन। मुलुकविरुद्धको गम्भीर अपराध गरेको जानकारी हुँदा पनि सो रोक्न सुरक्षा निकाय परिचालन गर्ने निकायको नेतृत्व गरेका लामिछानेले आरोप मात्रै लगाए भाग्नु भनेको आफ्नो निकम्मापन प्रदर्शन हो।

आरोपित गर्ने होइन अनुसन्धान गरेर यथार्थता उजागर गर्ने दायित्व बोकेका लामिछानेले गम्भीर विषय उठान गरेपछि यसको निरुपण गर्ने पनि उनको दायित्व हो।यस्तो गम्भीर आरोप लागिसकेपछि उन्मुक्ति दिइनु राष्ट्रविरुद्धको अपराध हो।

यदि गगनको संलग्नता भए राष्ट्रद्रोहको मुद्दा लगाएर अपराधी करार गर्नुपर्छ। अन्यथा यस्तो गम्भीर विषयमा निराधार आरोप लगाएका हुुन् भने गृहमन्त्री सजायको भागीदार बन्नुपर्छ। यसबाट भाग्ने छुट कसैलाई छैन।

आन्तरिक एवं बाह्य सुरक्षाको प्रबन्ध गर्ने तालुक मन्त्रालयको जिम्मेवारीमा रहेका लामिछानेले राष्ट्रिय सुरक्षा विपरितको कार्य गरेको आरोप लगाउने होइन् दण्डित गर्ने उनको दायित्व हो।

या त लामिछानेले आरोप पुष्टि गर्ने हिम्मत गर्नुपर्छ होइन भने फिर्ता लिएर गम्भीर आरोप लगाएकोमा आममाफी माग्नुपर्छ। यसलाई निरुपण नगरेरै यत्तिकै छाडेमा भावी दिनमा गगन रविप्रति नेपाली जनताको संशय झनै बढ्ने छ। त्यसको परिणाम दुबैका लागि प्रत्युत्पादक हुने छ।

आज गृहमन्त्री लामिछाने सञ्चारकर्ममा रहँदा जस्तै प्रश्न उठाउने ठाउँमा छैनन्। आज उनको विरुद्धमा प्रश्न उठाउन हिजोको आफ्नो जिम्मेवारी मिडियालाई सुम्पिएर समाधान गर्ने स्थानमा पुगेका छन्। अझै पनि प्रश्न मात्रै उठाएर पन्छिने हो भने उनले आफ्नो जिम्मेवारी बहन गर्न नसकेको ठहर्छ।

महत्वपूर्ण गृहमन्त्रालयको पदभार सम्हालेका उनी आफ्नो दायित्वबोध नगरेरै आरोपमा मात्रै उत्रिएपछि यसलाई उनको प्रचारमुखी अभिव्यक्त र गगनविरुद्ध कुण्ठा प्रकटीकरणका रुपमा समेत औंल्याइएको छ।

वाककलामा समान गुण भएका यी नेताद्वयको पृष्ठभूमि भने अलगै छ । थापा सुरुवाती चरणदेखि नै राजनीतिक क्षेत्रबाटै पार्टीको महामन्त्री बन्न सफल भएका हुन् भने गृहमन्त्री लामिछानेले मिडियाकर्मीबाटै राजनीतिमा फड्को मारेका हुन्।

यिनीहरुको पृष्ठभूमि अलग भए पनि राजनीतिक हैसियत भने थापाको हाराहारीमा छोटो समयमै लामिछानेले आफूलाई पुर्याएका छन्। उनी मुलुकको चौथो दलको सभापति एवं सरकारकै उपप्रधानमन्त्रीसहित गृहमकन्त्रीको रुपमा आसिन छन्।

रविको  उदयले सायद गगनले आफ्नो राजनीतिक भविष्यमाथि नै खतरा देखेर उनीविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको हुनसक्ने राजनीतिका जानकारहरु बताउँछन्।

लोकतान्त्रिक दलको रुपमा स्थापित रास्वपालाई स्थापनाकालमा कतिपयले कांग्रेसको विकल्पका रुपमा चित्रित गर्दथे। त्यसको परिणामस्वरुप गत निर्वाचनमा कांग्रेसमा उपेक्षित कतिपय नेताहरुको उपयुक्त आश्रयस्थल समेत रास्वपा बनेको थियो।

कांग्रेसका स्वर्णिम वाग्लेदेखि मनिष झासम्म रास्वपामा पुगेर राजनीतिक गति बढाइरहेका छन्। उनीहरु कांग्रेसमा रहँदा महामन्त्री थापा पक्षधर नै भनेर चिनिन्थ्यो।

कांग्रेसमा अवसर नपाएर आफू र आफ्नो दलका तत्कालीन निकटस्थहरु रास्वपामा पुगेर राष्ट्रिय राजनीतिमा स्थापित भएको तुष गगनमा कायम रहेको आँकलन समेत रास्वपामा रहेका नेताहरुले गर्दछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *