८ दिनदेखि बेपत्ता बंगलादेशी सांसद कोलकातामा मृत भेटिए

डिसी नेपाल
१० जेठ २०८१ १५:४७

काठमाडौं । ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद अनवरुल अजिम अनार बुधबार कोलकाताको फ्ल्याटमा मृत फेला परेका छन् । बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले कोलकाता प्रहरीलाई उद्धृत गर्दै यसको पुष्टि गरेका छन् ।

कोलकाता प्रहरीले भनेअनुसार सांसद अनवरुलको शव न्यू टाउन क्षेत्रमा शंकास्पद अवस्थामा फेला परेको थियो। यस घटनामा प्रहरीले ३ बंगलादेशीलाई पक्राउ गरेको छ । साथै यसलाई पूर्वनियोजित हत्याको रुपमा व्याख्या गरिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार सांसद अनवरुल मे १२ मा उपचारका लागि कोलकाता आएका थिए । भोलिपल्टै उनी बेपत्ता भए । अनवरुलको फोन पनि मे १३ देखि बन्द थियो ।

यसपछि १७ मेमा बिहारको कुनै इलाकामा उनको फोन केही समयको लागि स्वीच अन भयो । प्रहरीका अनुसार उनको फोनबाट उनको परिवारका सदस्यहरूलाई नयाँ दिल्ली गएको सन्देश पठाइएको थियो।

अनवरुल अजिम अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन्। उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ सिटबाट चुनाव जितेका थिए । अनवरुलको मृत्यु हुनुअघि उनका परिवारका सदस्यहरूले शेख हसिनालाई भेटेर मद्दत मागेका थिए।

प्रहरी स्रोतका अनुसार अनवरुल मे १२ मा साँझ ७ बजे आफ्नो परिवारका साथी गोपाल विश्वासलाई भेट्न गएका थिए । भोलिपल्ट दिउँसो १ः४१ बजे डाक्टरलाई भेट्न आग्रह गरेपछि उनी त्यहाँबाट निस्किएका थिए ।

साँझ फर्कने उनले बताएका थिए । अन्वारुलले विधान पार्कको कलकत्ता पब्लिक स्कुलको अगाडिबाट ट्याक्सी लिए। साँझ उनले गोपाललाई ह्वाट्सएप म्यासेज पठाएर आफू दिल्ली जाँदै गरेको जानकारी दिए। जसका कारण उनको स्थान पत्ता लाग्न सकेको थिएन ।

कोलकाता प्रहरीले अन्वारुलका साथीको घरमा खोजी गरेको छ । आवासीय कम्प्लेक्समा जडान गरिएका सिसिटिभी क्यामेराको फुटेज पनि जाँच भइरहेको छ । उक्त फ्ल्याटमा बारम्बार आवतजावत गर्ने व्यक्तिहरुको बारेमा पनि प्रहरीले खोजी गरिरहेको छ । बंगलादेशी दूतावास पनि प्रहरीसँग निरन्तर सम्पर्कमा छ । बंगलादेश सरकारले सम्पूर्ण मामिलाको प्रतिवेदन मागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *