धिमाल युवा प्रतिभा पुरस्कार २०८१ बाट नृत्यंगना सरस्वती धिमाललाई सम्मान गरिने
उर्लाबारी। धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले यस वर्ष “धिमाल युवा प्रतिभा पुरस्कार २०८१” बाट नृत्यंगना सरस्वती धिमाललाई सम्मान गर्ने भएको छ।
धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सचिवालय सदस्य माेहनकुमार धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको बैठकले बेलबारी-१०, माटिगाउँ, मोरङकी सरस्वती धिमाललाई सम्मान गर्ने निर्णय गरेको हो।
गिनिज बुक अफ वर्ड रेकर्डमा सबैभन्दा उच्च स्थान ५,२७८ मिटर उचाईमा काेरियाेग्राफी गरेर नाम लेखाउन सफल सरस्वती धिमाल एक सफल नृत्यंगना हुन्। डान्सिङ स्टार नेपाल, स्कुल डान्सिङ च्याम्स, शिखर डान्स आईकनकाे उपाधि विजेता उनले विभिन्न गितमा काेरियाेग्राफरकाे रुपमा काम समेत गरेकी छन्।
धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सचिवालय सदस्य माेहनकुमार धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समिति नारायण राजदाेङ्गे, शंकर धिमाल, पुष्पा धिमाल, पितबहादुर धिमाल रहेका थिए।
धिमाल जातीय विकास केन्द्रले युवा प्रतिभाहरुलाई प्राेत्साहन गर्ने उदेश्यले हरेक बर्ष धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिरहेकाे महासचिव मातृका धिमालले जानकारी दिए।
यसअघि बडिबिल्डर विकास धिमाल, फुटबलर रजिन धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, तेक्वान्दाे खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिएकाे छ । पुरस्कृत व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाण पत्र र आल्गी धावा ओडाएर सम्मान गरिने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment