डेंगी र हैजाका संक्रमितको संख्यामा वृद्धि
काठमाडौं। पछिल्लो समय डेंगी र हैजाका संक्रमितको संख्यामा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी संक्रमितको संख्या तीन हजार ८४ जना पुगेको छ।
चार दिनयता सात सय २२ जना डेंगी संक्रमित थपिएका हुन्। यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेंगी पुष्टि भएको थियो। यो संख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए।
उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ। सबभन्दा बढी डेंगी तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ। काठमाडौं जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेंगी संक्रमित देखिएका छन्।
स्वास्थ्य मन्त्रालयले डेंगी संक्रमितको संख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। ‘सरकारी अस्पतालमा डेंगी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ।
यस्तै महाशाखाका अनुसार हैजाका बिरामीका संख्या ४७ पुगेका छन्। किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौं, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए।
उनका अनुसार ललितपुरमा ३४, काठमाडौंमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment