ओखलढुंगामा ७९ करोड विकास बजेट ‘फ्रिज’

डिसी नेपाल
२९ साउन २०८१ ११:४९
36
Shares

ओखलढुंगा। गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुंगा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ। उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ‘फ्रिज’ भएको हो।

कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा ‘फ्रिज’ भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिए। उनका अनुसार जिल्लाका लागि प्रदेश तथा संघीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च हुन नसकेको उक्त बजेट ‘फ्रिज’ भएको हो।

“समयमा काम सम्पन्न नहुँदा नियमानुसार भुक्तानी दिन सकिन्न। गत वर्ष जिल्लाको धेरै विकास बजेट फिर्ता भयो”, जोशीले भने, “प्रक्रिया पुगेर आएकालाई मात्रै भुक्तानी दिने गरेका छौं। अन्य रकम नियमानुसार फिर्ता हुन्छ।” बजेट फिर्ता हुँदा विकास निर्माण प्रभावित हुने भएकाले समयमै काम गरेर भुक्तानी लिनुपर्ने उनको सुझाव छ।

संघ र प्रदेश दुवैतर्फ गत आवमा जिल्लाका लागि कुल आठ अर्ब ५४ करोड ५१ लाख ७६ हजार एक सय १५ बजेट विनियोजन भएको थियो। उक्त बजेटमध्ये संघतर्फ चार अर्ब ७८ करोड ७३ लाख ६६ हजार तीन सय १६ चालु र एक अर्ब १८ करोड १२ लाख ४७ हजार पाँच सय ८१ पुँजीगत रहेको थियो।

गत आवमा प्रदेशतर्फ चालु बजेट ६२ करोड ७२ लाख ५५ हजार र पुँजीगत एक अर्ब ५५ करोड ४८ लाख ८४ हजार बजेट जिल्लाका लागि विनियोजन भएको थियो। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका स्थानीय तहलाई निकासा भएको बजेटमा पनि खर्च बर्सेनि घटेको छ।

तथ्यांकमा विकास बजेट खर्च नभएको देखिए पनि जिल्लाका दर्जनौं आयोजना बजेट अभावका कारण रुग्ण बनेका छन्। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका लिखु करिडोर, मोलुङ करिडोर, दर्जनौं सडक पुलसहितका पूर्वाधारका काम वर्षौंदेखि बजेट अभावमा अधुरा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *