झापाका सन्तोष लोक्सम ‘रियलमी मिष्टर नेपाल २०२४’को विजेता घोषित
काठमाडौं। रियलमी ‘मिष्टर नेपाल २०२४’ सन्तोष लोक्सम घोषित भएका छन्। शनिबार राति सोल्टीमोड स्थित होटल सोल्टीमा भव्य स्टेज सेटअप सहित आयोजित ‘रियलमी मिष्टर नेपाल २०२४’को अन्तिमस्पर्धामा झापा सन्तोष लोक्समले शीर्ष उपाधिको ट्रफी उचाल्न सफल भएका हुन्।
विजेता बनेसँंगै उनी आधिकारिक रुपमा ‘मिष्टर नेपाल वल्र्ड २०२४’ चयन भएका छन्। उनले आगामी नोभेम्बर महिनामा भियतनामा संचालन हुने ‘मिष्टर वल्र्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
कार्यक्रममा सन्तोषलाई एन्ट फाउन्डेसनले सोसल एम्बेसडरका रुपमा पनि पुरस्कृत गरेको छ। विजेता बनेसँगै सन्तोषले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन्।
प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ ‘मिष्टर ग्लबोल नेपाल २०२४’ छानिएका छन्। उनले नेपालको तर्फबाट आउँदो अक्टोबर महिनाको पहिलो साता थाईल्याण्डमा सम्पन्न हुने ‘मिष्टर ग्लबोल २०२४’ नेपालको प्रतिनिधित्प गर्नेछन्। त्यस्तै काठमाडौंका आयुष दुलाल प्रतियोगीतामा ‘म्यान अफ द वल्र्ड नेपाल २०२४’ चयन भए। दुलाले ‘म्यान अफ द वल्र्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
योगेश र आयुष दुवै तीन लाख बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन्। तीनै जना मुख्य उपाधि विजेताले विभिन्न ब्राण्डका लागि मोडलिङ गर्ने अवसर समेत प्राप्त गरेका छन्।
प्रतियोगितामा धरानका आदेश प्रधान फस्टरनर अप तथा हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप भए। बौद्धिकता सहितको व्यक्तित्व, आकर्षण सहितको आवरण तथा दृढ निश्चयता सहितको आत्मविश्वास भएको युवाको खोजी अन्तर्गत संचालन गरिएको ‘मिष्टर नेपाल २०२४’ को फाइनल प्रतिस्पर्धाको यात्रामा राइनो लेदरको पहिरनमा सहभागिहरुले आफ्नो प्रारम्भिक प्रस्तुति दिएका थिए, भने त्यसपछिका प्रस्तुतिमा ब्ल्याकबेरिजको विभिन्न मेन्स् वेयरमा सजिएर फाइनल प्रतिस्पर्धाको मैदान आफूलाई अब्बल रुपमा उतारेका थिए।
एक्सपोज नेपालको पहलमा नेक्स्ट मोडल्स नेपालको आयोजनामा नेपाली युवाको बौद्धिकता, व्यक्तित्व, प्रतिभा, साँस्कृतिक पृष्ठभूमि र आत्मविश्वास संग जोडिएको राष्ट्रिय स्तरको प्रतियोगिता रियलमी मिष्टर नेपाल २०२४ मा देशभरिका ३८ जना युवाहरुको सहभागिता रहेको थियो।
अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा फोटोग्राफर राजभाई सुवाल, युवा उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री एवं मोडल नीति शाह, पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिष्टर नेपालद्वय डा. रुपक घिमिरे र सन्दिप पोखरेल रहेका थिए।
प्रतियोगिताको विभिन्न विधागत अवार्डमा आयुष बोमजन रियलमी मोस्ट पपुलर, आदेश प्रधान पब्लिक च्वाइस, आयुष दुलाल टेनएक्स वेष्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मोस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ आर्टसियम मिष्टर फाटोजेनिक, साकार बजिमय प्रिमेरा मोस्ट इन्टिलेक्चुयल, मनोज गुरुङ बज्र वेष्टफिजिक, सन्तोष लोक्सम ब्ल्याकबेरी म्यान अफ एलिगेन्स, प्रकाश चौहान योलो मोस्ट एक्टिभ, समिर तिमिल्सिना आवरण वेष्ट स्कीन, पियुष श्रेष्ठ जोय मेन च्वाइस, अनिकेत प्रजापति श्रीकेश वेष्ट हेयर, सिजल कपाली राइनो मिष्टर फेसनीष्टा, अग्रज श्रेष्ठ प्रो स्टाइल मिष्टर स्टाइल आइकन तथा मनोज गुरुङ केएफसी वेष्ट स्पोर्टस्मेनशीप अवार्डमा विजेता चयन भएका थिए।
‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगीतामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रुपमा रहदै आएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment