आममाफीबाट कुवेतमा ६५ हजार अवैध कामदार लाभान्वित
काठमाडौं। कुवेतले दिएको आममाफीबाट ६५ हजार अवैध कामदार लाभान्वित भएका छन्। कुवेतले यस वर्षको सुरुमा अवैध आप्रवासी कामदारलाई आफ्नो स्थिति समायोजन गर्न वा निर्वासनको सामना गर्न तीन महिनाको समयसीमा दिएको थियो।
सो समयसीमाभित्र ६५ हजार आप्रवासी कामदार लाभान्वित भएको एक वरिष्ठ कुवेती सुरक्षा अधिकारीले बताएका छन्।
कुवेतको आन्तरिक मन्त्रालयमा रेसिडेन्सी मामिलाका महानिर्देशनालयका प्रमुख ब्रिगेडियर युसुफ अल अयुबले जुन महिनाको अन्त्यमा म्याद सकिएपछि ४ हजार ६ सय ५० जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ परेका सबै जनालाई देशबाट डिपोर्ट गरिएको र पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइएको प्रमुख ब्रिगेडियर अल अयुबले बताए ।
कुवेतमा आफ्नो बसोबासस्थिति सुधार गर्न प्रवासीका लागि बिस्तारित माफी अवधिको म्याद सकिएपछि गृह मन्त्रालयले रेसिडेन्सी कानुन उल्लंघन गर्नेलाई लक्षित गर्दै व्यापक सुरक्षा अभियान चलाएर धमाधम पक्राउ गरिरहेको छ ।
मन्त्रालयका अनुसार कोही पनि उल्लंघनकर्ता समयसीमा समाप्त भएपछि भाग्ने छैनन् । अभियानले सबै राज्यपाललाई दृढता कायम राख्न र बिस्तारित अवसरका बाबजुद आफ्नो स्थिति नियमित गर्न असफल भएकालाई धमाधम पक्राउ गरी देश निकाला गर्ने क्रम जारी रहेको जनाएको छ ।
कुवेतमा ठूलो संख्यामा नेपाली कामदार पनि अवैध तरिकाले बस्दै आएका छन् । अब उनीहरूलाई पनि कुवेत सरकारले खोजीखोजी पक्राउ गरी डिपोर्ट गर्नेछ । अहिले कुवेतको केन्द्रीय कारागारमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् ।
अधिकांश लागूऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका छन् भने बाँकी चोरी, डकैती, झैझगडा गरेको र कानुन उल्लंघन गरेका कारण जेल परेका छन् । जेल सजाय सकिएपछि पुनः कुवेत फर्कन नपाउने गरी कुवेत सरकारले उनीहरूलाई डिपोर्ट गर्दै आएको छ ।
हाल कुवेतमा १ लाख ७ हजार नेपाली वैधरूपमा कार्यरत रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment