फिल्म ‘रंगी’ मा नम्रता श्रेष्ठ अनुबन्धित
काठमाडौं। सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ मा ‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन्। सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा नम्रताको ‘डेब्यू’ अभिनय रहनेछ।
हालै निर्माण पक्षले नम्रतालाई फिल्ममा अनुबन्ध गरेको हो। नम्रताले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् । ‘मैले रंगीको स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ, म युवावस्थाको छु, तर मेरो नेचर बच्चाको जस्तो छ । ऊ बच्चाको लागि एउटा आमा जस्तो भूमिका गर्नु पर्ने भएकाले पनि काम गर्न मन लाग्यो’, उनले भनिन्।
नम्रताले यसअघि आफूलाई एक वेब सिरिजको लागि अफर आए पनि आफ्नो भूमिका चुनौतिपूर्ण र विवादास्पद लागेकाले अभिनय नगरेको खुलाइन् । ‘वेब सिरिजमो स्क्रिप्टमा मेरो क्यारेक्टर अलिक कन्ट्रोभर्सियल किसिमको थियो । म अलिक सोझी छु । तर वेब सिरिजको क्यारेक्टर ग्ल्यामर किसिमको भएकाले विवाद आउँछ भनेर मैले काम गरिनँ’ उनले भनिन् ।
‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव संगालेका सुरेश न्यौपानले यही फिल्ममार्फत निर्देशनमा ‘डेब्यू’ गर्दैछन् ।
यसअघि निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।
सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment