छठ घाटलाई दुलही झैँ सजाइँदै

डिसी नेपाल
१९ कार्तिक २०८१ १९:२९
24
Shares

जलेश्वर। छठ पर्व मनाउन तीन दिनमात्रै बाँकी रहँदा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा छठपूजाका छठ घाट दुलही झैँ सजाउने काम भइरहेको छ। यहाँ प्रमुख चाडका रूपमा मनाइने छठका लागि विभिन्न पोखरी, नदी र तलाउमा बनाइएका मन्दिर र घाटलाई विभिन्न वस्तुले दुलहीझैँ सजाउने काम तीव्र रूपमा भइरहेको हो।

मिथिलाञ्चलभर एउटै पोखरी तथा नदी तलाउमा धेरै व्यक्तिले छठ पर्व मनाउने चलन रहेकाले १५।२० दिन पहिलेदेखि नै छठ घाटमा विभिन्न तयारी गरिन्छ। जलेश्वर नगरपालिका–५ निवासी संस्कृतिविद् धु्रव रायले मिथिलाञ्चलमा धुमधामका साथ छठ मनाउनका लागि तयारी करिब अन्तिम चरणमा रहेको बताए।

सूर्य भगवान तथा छठ माताको पूजा पानीमै हुने भएकाले मिथिलाञ्चलका जलाशय सरसफाई, घाट निर्माण, सडक, बाटो बनाउने काम सकेर अब घाटमा पंडाल निर्माण, बिजुलीबत्ती जडान, तोरन झुण्ड्याउनेलगायत काम जोडतोडका साथभइरहेका जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले जानकारी दिए।

जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले स्थानीयस्तरमा रहेका सबैजसो जलाशयमा एक महिना पहिलेदेखि नै सरसफाई, मर्मतसम्भार, मन्दिर निर्माण गरी छठको तयारी सुरु हुने बताए। उनले यसका लागि जलेश्वर नगरपालिकाभित्र रहेका प्रमुख जलाशय वरुण सरोवर, परिक्रमा पोखरी, पाठक पोखरी, चौधरी पोखरी, अस्पताल पोखरी, मिश्रपोखरी, भारी पोखरी, सारी पोखरी, सुगापोखरी, पिगौना पोखरी, बखरीघाटलगायत घाट सिङ्गार्ने काम भइरहेको बताए।

यसैबीच परापूर्व कालदेखि नै सूर्यपूजा तथा छठी माताको पूजाको लागि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीमा बीच पानीमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै बाँसको तैरिने बाटो निर्माण गरिएको छ भने करीब आधा किलोमिटरसम्म गुफाबाला पंडाल र विभिन्न साजज्जा र बिजुलीबत्ती जडान गरिने कार्य भइरहेको स्थानीय प्रदीप पाठकले बताए।

जिल्लाका मटिहानी, गौशाला, औरही, बलवा, लोहार पट्टीलगायतका सबै स्थानीय तहका जलाशयमा साजज्जाका काम भइरहेका जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुमनकुमार लाल कर्णले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *