हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो
म्याग्दी। हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ। म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन्।
बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले आज साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ। उनीहरुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन्।
नुहाइ धुवाई शुद्ध वस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा व्यवसाय गर्दै आएका सञ्जय ठाकुरले बताए। नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरुले सूर्यलाई अर्घ्य चढाएका थिए।
उनीहरुले ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए। छठ मनाउन जम्मा भएका मिथिलाञ्चलबासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए।
म्याग्दीमा विस २०७७ देखि छठ मनाउन सुरु गरिएको हो। सरकारले २०७६ साल फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment