मण्डला नाटक घरमा ‘हरि हजुरबा’ मञ्चन हुने
काठमाडौं। थापागाउँस्थित मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ। अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो ।
यसमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ।
निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन्।
नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ। चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ।
नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ। यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको छ।
आउँदो बिहीबारदेखि सुरू हुने नाटक पुस २८ गते (आइतबार) सम्म सोमबार बाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन्।
नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने ‘हरि हजुरबा’ टिमको अपेक्षा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment