कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार

डिसी नेपाल
२६ पुष २०८१ १६:३५
204
Shares

पर्वत। जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ। स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो।

बुधबार दिउँसो पसेको चितुवालाई आज बिहानमात्र नियन्त्रणमा लिन सफल भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ। पोखराबाट आएका वन्यजन्तु उद्धार टोलीले कार्यालयका वन अधिकृत रामबहादुर विकको नेतृत्वमा चितुवालाई जीवितै उद्धार गरी नियन्त्रणमा लिइएको विकले जानकारी दिए। बिहीबार साँझ फार्ममा पुगेको उक्त टोलीले रातभर प्रयास गरेपछि आज बिहान उद्धार गरेको उनले बताए।

उद्धार गरिएको चितुवालाई सुरक्षित स्थानमा लगेर छाडिने वन अधिकृत विकले उल्लेख गरे। चितुवा ४० किलो तौलको छ भने करिब सात वर्ष हुनसक्ने उनले अनुमान गरे।

फार्मभित्र पसेर चितुवाले ३० वटा कालिज मारेको छ भने सयौँ कालिज चितुवा पस्ने बेला जालीबाट भागेका कृषक पुनले जानकारी दिए। उनका अनुसार चितुवाको आक्रमणबाट करिब रु सात लाखको क्षति भएको छ।

जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको कृषि फार्ममा लगाइएको सात फिट उचाइको तारजाली पार गरेर चितुवाले कालिजमाथि आक्रमण गरेको बताए। यसअघि पनि उक्त क्षेत्रमा चितुवाले बाख्रा, कुकुर, गाईभैँसीलाई आक्रमण गर्दै आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *