माघे संक्रान्तिका दिन तरुल, चाकु र तिलका लड्डु (तस्बिर)
काठमाडौं। आज माघे संक्रान्ति। धेरैजसो नेपाली समुदायले यस दिनलाई विशेष रूपमा मनाउँछन्। हिन्दू धर्मावलम्बीले माघेसंक्रान्ति मनाइरहँदा थारू समुदाय नयाँ वर्षको रूपमा माघी पर्व मनाउने चलन छ।

काठमाडौं उपत्यकाको नेवार समुदायमा ‘घ्यो चाकु सन्हु’मा मानाउने गरिन्छ। माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो। मगर समुदायमा समेत आजको दिनमा चेलिबेटी पुज्ने गरिन्छ।

माघे संक्रान्तिमा काठमाडौं उपत्यकामा चाकु, उसिनेको तरुल, तिलको लड्डु पालुंगोको तरकारी लगायतका पदार्थ खाने चलन छ। पहाडी भेगमा खिचडी, फुलौरा, सेल, गुड र तिलका परिकार बनाएर खाइन्छ।

आजको दिन माटोमुनि फलेका बालीको रूपमा तरुल, सखरखण्ड, पिडालुका साथै चाकु, तिलको लड्डु पनि खाने प्रचलन छ। हाम्रा धेरैजसो चाडपर्वमा खाइने खानेकुरा समय र शरीरको आवश्यकताअनुसार पनि निर्धारण गरिएको हुन्छ। आजको दिन खाइने यस्ता खानेकुराले शरीरलाई शक्ति दिनुका साथै, आवश्यक पोषकतत्वसमेत पूर्ण गरिदिन्छ।

अन्य समयको तुलनामा जाडो महिनाममा माघे सक्रान्तिमा खाइने तरुल, सखरखण्ड, घिउ चाकु लड्डु उपयोगी हुन्छ। भदौपछि सुरु हुने चिसो मौसम पुस माघमा उत्कर्षमा पुग्छ। माघको एक गते अर्थात् माघे सक्रान्तिको दिन धेरै जाडो हुन्छ।

जाडोको वेलामा शरीरमा अन्यबेलाको तुलनामा मोटाबोलिजमु धेरै हुन्छ र खाना रुच्ने हुन्छ। यसवेला हामीलाई छिटोछिटो भोक लाग्छ। यस्तो वेलामा तिलको लड्डु, तरुल, चाकु, सखरखण्ड जस्ता खाने कुराले शरीरलाई आवश्यक शक्ति दिन्छ र रोगसँग लड्ने शक्तिसमेत प्रदान गर्छ।



















No ads found for this position


Facebook Comment