संविधान र कानुन अनुसार ल्याइएको अध्यादेश विरोधको औचित्य छैन : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका छन्।
शनिबार विराटनगरमा प्रेस चौतारी मोरङको ९औं अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सदन नचलेको बेला अध्यादेश ल्याउने संवैधानिक व्यवस्था रहेको भन्दै संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताए।
उनले संघीय सरकार र प्रदेश सरकारले राम्रो काम गर्दागर्दै पनि केही मिडिया र सामाजिक सञ्जालमा विरोध गर्ने प्रवृत्ति बढेको गुनासो गरे। मुख्यमन्त्री कार्कीले वर्तमान गठबन्धन संविधान संसोधन, आर्थिक सुधार र सुशासन प्रत्याभूतिका लागि भएको स्पष्ट पार्दै एमाले र कांग्रेसबीचको सहमति मन नपराउने तत्वले मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरेको टिप्पणी गरे।
प्रदेश भरीका पत्रकारको हकहितका लागि काम गर्ने गरी प्रदेश सरकारले आम सञ्चार प्रतिष्ठान सम्बन्धी विधेयक चालू अधिवेशनमा नै पारित गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले पत्रकार महेन्द्र विष्टलाई शालिग्राम मन्जुदेवी दाहाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे। प्रेस चौतारी मोरङले स्थापना गरेको सो पुरस्कारको राशी २१ हजार रुपैयाँ रहेको छ।
Facebook Comment