ज्यानै लिने उच्च रक्तचापलाई बेवास्ता नगरौं, आफैं थाहा पाउन सकिन्छ लक्षण

डा. ओममूर्ति अनिल
१८ माघ २०८१ ७:४८
372
Shares

व्यस्त जीवनशैलीले पछिल्लो समय अधिकांश मानिस उच्च रक्तचापको सिकार भइरहेका छन्। उच्च रक्तचापलाई समान्य रुपमा लिनु हुँदैन।

हामीले यसका लक्षणहरूको पहिचान गरेर समयमै उपचार गर्नुपर्छ। नत्र यो स्वास्थ्यका लागि घातक हुन्छ। प्राथमिकताको आधारमा व्यवहारिक ज्ञानले उच्च रक्तचापका लक्षण के-के हुन्छन् भन्ने बारेमा चनाखो हुनुपर्छ।

उच्च रक्तचाप भएका व्यक्तिमा टाउको दुख्ने समस्या हुन्छ। टाउको दुख्ने भनेपछि मानिसमा के कारणले दुखेको होला भन्ने अन्यौलता रहन्छ। टाउको दुख्दा सामान्य व्यक्तिको प्रेसर पनि उच्च हुन सक्छ। के कारणले टाउको दुखेको हो भनेर पत्ता लगाउन निकै कठिन हुन्छ।

कसैमा टाउको पछाडितिर दुख्ने हुन्छ। कसैको अगाडि पट्टी टाउको दुखिरहेको हुन्छ। कसैको हेल्मेट लगाए जस्तो दुखाइ हुन्छ। अगाडितिर दुख्ने भनेको धेरै कम हुन्छ। एकापट्टी मात्रै दुख्ने पनि कम हुन्छ।

प्रेसर बढेको सबैभन्दा पहिलो लक्षण टाउको दुख्नु हो। प्रेसर भएका मानिसमा टाउको बेस्सरी दुख्दैन। माइग्रेनमा बेस्सरी दुख्छ। एन्जाइटी हेडेकमा बेस्सरी दुख्छ। प्रेसरको कारणले मन्दमन्द टाउको दुख्छ।

उच्च रक्तचापको अर्को लक्षण भनेको रिगटा लाग्नु हो। रिगटा धेरै कारणले लाग्न सक्छ। तर, पनि प्रेसर एउटा कारण हो। प्रेसरको भ्यालुले रिगटा लाग्ने नलाग्ने निर्क्यौंल गर्दैन। थोरै प्रेसरमा पनि कसैलाई रिगटा लाग्ने, टाउको दुख्ने हुन्छ।

कसैलाई धेरै प्रेसर बढ्दा पनि रिगटा लाग्ने नहुन सक्छ। रिगट अलिअलि लाग्छ। धेरै रिगटा लागेर हिँड्नै गाह्रो भयो, समातेर हिँड्नुपर्‍यो भने ब्रेनको नसा सम्बन्धि गम्भीर समस्या पनि हुनसक्छ भनेर चनाखो हुनुपर्छ। अलिअलि रिगटा लाग्ने, काम गर्न गाह्रो हुने भएमा उच्च रक्तचापको संकेत हुनसक्छ।

स्वाँस्वाँ हुनु पनि उच्च रक्तचापको लक्षण हो। हिँड्दा, काम गर्दा, भर्‍याङ् चढ्दा पहिलाभन्दा अलि चाँडै स्वाँस्वाँ भएमा प्रेसरको लक्षण हो। मुटुमा प्रेसरले असर गरिरहेको अवस्थामा यस्तो हुन्छ।

यसका साथै मुटु ढुकढुक हुनु पनि प्रेसरको लक्षण हो। प्रेसर बढेका मानिसमा मुटुले अलि बढी ढुकढुक गरेको महसुश हुन्छ। धड्किने, रोकिने लक्षण देखिएमा पनि उच्च रक्तचापको संकेत हो। इक्टोभिक भिक्स भनिन्छ यसलाई।

प्रेसर बढेको अर्को लक्षण छातिमा असजिलो हुनु हो। प्रेसर हाइ हुँदा हिँड्दा असजिलो महसुस हुन्छ। वाकवाकि लाग्नु पनि प्रेसर बढेको लक्षण हो। उल्टी धेरै हुने हुँदैन। धेरै उल्टी हुनु ग्यास्ट्रिक वा ब्रेन सम्बन्धि केही होला।

तर, अलिअलि वाकवाक लाग्ने र वाकवाक लाग्दा कहिलेकाहीँ उल्टी हुने उच्च रक्तचापले हुन्छ। नयाँ केसमा अचानक रक्तचाप बढेर १८० वा २०० पुग्दा यस्तो हुन्छ। कसैलाई भने २०० मा पनि वाकवाक नलाग्न सक्छ। कसैलाई १३०/३५ मै वाकवाक लाग्न सक्छ। व्यक्ति अनुसार फरक हुन्छ।

आँखामा पनि प्रेसरले असर गर्छ। आँखामा पनि समस्या आउँछ। आँखाको दृष्टिमा समस्या आउनेलगायत अन्य लक्षण देखिन सक्छ। कान धुम्म हुने र कराउने पनि उच्च रक्तचापको लक्षण हो। पानी भित्र छिर्दा जस्तो महशुस हुन्छ, प्रेसर बढ्दा पनि त्यस्तै हुन सक्छ।

प्रेसर बढ्दा खुट्टा वा अनुहार सुन्निने पनि हुनसक्छ। प्रेसरको मिर्गौला, मुटुमा असर पर्दा धेरै बिरामीमा यस्तो समस्या देखिन्छ। उनीहरूको मिर्गौला, मुटु विग्रिसकेको हुँदैन। तर, सुरुवाति स्टेजमा शरीरमा पानीको रिटेन्सनले त्यस्तो समस्या देखिन्छ कसैमा।

प्राय हाइ ब्लडप्रेसर भएमा नाकबाट रगत आउने पनि हुन्छ। रक्तचाप उच्च हुँदा नाकमा भएको मसिनो नसा फुटेर रगत आउँछ। उच्च रक्तचापको बिरामीमा कतिपय अवस्थामा थोरै ब्लड प्रेसर बढ्दा पनि नाकबाट रगत आउने हुन्छ।

यस्ता लक्षण देखिएमा ब्लड प्रेसर भएको हो भनेर किटान गर्न त सकिँदैन। व्यक्ति अनुसार, रक्तचाप अनुसार, कति वर्षदेखि ब्लड प्रेसर उच्च रहेछ भन्ने कुराले निर्धारण गर्छ। पहिलो पटक होकि?, औषधि सेवन गरेको छ कि छैन?, उमेर कति हो?, उसको शरीरमा अरु के-के रोग छन्? सबैको कम्बिनेशनमा लक्षण देखिने, नदेखिने हुन्छ।

लक्षणको तीव्रता कति हुनुपर्ने भन्ने पनि यीनै कुराले निर्धारण गर्छन्। तर, उच्च रक्तचापको लक्षण नदेखिने बिरामी नै बढी हुन्छन्। धेरै मानिसमा हामीले माथि चर्चा गरेका लक्षण देखिँदैनन्। तर, रक्तचाप उच्च हुन्छ। त्यसैले नियमित सेडुल अनुसार आफ्नो स्वास्थ्य जाँच गरिराख्नुपर्छ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलसँग गरिएकाे कुराकानीमा आधारित)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *