राप्रपाले पोखरा, बुटवल र धनगढीमा प्रदेशस्तरीय खबरदारी सभा गर्दै

डिसी नेपाल
४ फागुन २०८१ १०:४९
360
Shares

काठमाडाैं। हिन्दु राष्ट्र र राजसंस्थाको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिएको दल राप्रपाले फागुन महिनामा विभिन्न सभाहरु गर्ने भएको छ।

सो पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न शहरमा साना ठूला सभाहरु गर्ने र चैतमा काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो। माघ महिनामा संगठन सुदृढीकरण र साना सभाहरु भएका छन् भने फागुनमा केही सभाहरु तय भइसकेका छन् अरु सभाहरुको तयारी हुँदै गरेको राप्रपाले जनाएको छ।

यसक्रममा फागुन ९ गते गण्डकी प्रदेशको पोखराको चिप्लेढुंगामा, फागुन १५ गते लुम्बिनी प्रदेशको बुटवलमा र फागुन १८ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा सभाहरु हुने राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्।

राप्रपाले सरकारको गलत कार्यशैलीदेखि भ्रष्टाचार, सर्वत्र बेथितिको विरोध गर्ने र जनजीविकाका मुद्धाहरु, आफ्ना एजेण्डाका पक्षमा जनतालाई जागरुक तुल्याउन र जनमत निर्माण गर्न देशैभर विविध कार्यक्रमहरु गरिरहेको प्रवक्ता श्रेष्ठले बताए।

०८२ बैशाख मसान्तसम्म वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने भनेर हामीले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेका छौं, यतिबेला सबै स्थानीय तहको संगठन चलायमान भइरहेको छ, उनले भने।

पोखरा, बुटवल र धनगढीमा हुने सभाहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *