अमेरिका-युक्रेनबीच खनिज सम्बन्धी सम्झौता हुँदै

डिसी नेपाल
१३ फागुन २०८१ ७:४६
968
Shares

काठमाडौं। अमेरिका-युक्रेनबीच खनिज सम्बन्धी सम्झौता हुने भएको छ। युक्रेनका उपप्रधानमन्त्री ओल्हा स्टेफानिसिनाले युक्रेन र अमेरिका खनिज सम्झौताको वार्ताको अन्तिम चरणमा रहेको बताएका हुन्।

यस महिनाको सुरुमा राष्ट्रपति भोलोडीमिर जेलेन्स्कीले अमेरिकी सैन्य सहयोगको बदलामा अमेरिकालाई युक्रेनी खनिजहरूमा पहुँच दिने सम्झौतालाई अस्वीकार गरेका थिए।

तर स्टेफानिसिनाले युक्रेनी र अमेरिकी टोलीहरू खनिज सम्झौताको सम्बन्धमा वार्ताको अन्तिम चरणमा रहेको जानकारी गराएकी छन्। उनले वार्ताहरू धेरै रचनात्मक भएको र लगभग सबै प्रमुख विवरणहरू अन्तिम रूप दिइएको बताएकी छन्। साथै उनले युक्रेन यसको हस्ताक्षरको साथ अगाडि बढ्न र यसलाई छिटो पूरा गर्न प्रतिबद्ध रहेको समेत बताएकी छन्।

उनले भनेकी छन्- ‘हामी आशा गर्छौं, अमेरिका र युक्रेन दुवै नेताहरूले आगामी दशकहरूको लागि हाम्रो प्रतिबद्धता प्रदर्शन गर्न चाँडो भन्दा चाँडो वाशिंगटनमा हस्ताक्षर र समर्थन गर्न सक्छन्।’

राष्ट्रपति जेलेन्स्कीले खनिजसम्बन्धी सम्झौता गर्न अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई व्यक्तिगत तहमै आक्रमण शुरु गर्दै उनलाई तानाशाहसम्म भनेका थिए। साथै ट्रम्पले युक्रेनमा चुनाव गराउने र जेलेन्स्कीलाई पदबाट हटाउनेसम्मको दबाब बढाएका थिए।

यसैबीच जेलेन्स्कीले पनि अमेरिका आफ्नो विपक्षमा गइरहेको बुझेपछि युक्रेनमा शान्ति हुने शर्तमा पद छोड्न तयार रहेको अभिव्यक्ति समेत दिएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले खुला रुपमा नै युरोपले युक्रेनलाई सित्तैमा सहयोग नगरेको र अमेरिकाले पनि नगर्ने भन्दै युक्रेन युद्धबाट पछि हट्ने बताएका थिए। ट्रम्पकै प्रयासमा पुटिनसँगको कुराकानीपछि अमेरिकी र रुसी वरिष्ठ कुटनीतिज्ञबीच साउदी अरेबिया पहिलो चरणको वार्ता समेत भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *