विदेशीले ५० लाख डलर तिरेर अमेरिकामा स्थायी बसोवासको अनुमति लिन सक्ने ट्रम्पको घोषणा

डिसी नेपाल
१४ फागुन २०८१ १२:००
2.2k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकले ५० लाख डलर तिरेर अमेरिकामा स्थायी बसोबास गर्न, काम गर्न वा व्यापार गर्न अनुमति पाउने घोषणा गरेका छन् । ५० लाख डलर तिरेर विदेशीले ‘गोल्ड कार्ड’ लिन सक्नेछन् । गोल्ड कार्ड पाएकाहरुले पछि नियमअनुसार अमेरिकी नागरिकता लिन सक्नेछन् ।

मंगलबार वासिंगटनस्थित ओभल अफिसबाट उनले भने, ‘हामी गोल्ड कार्ड बेच्दैछौं । तपाईंसँग ग्रिन कार्ड छ। यो गोल्ड कार्ड हो। हामी त्यो कार्डको मूल्य लगभग पाँच मिलियन डलर राख्नेछौं र त्यसले तपाईंलाई ग्रिन कार्ड विशेषाधिकार दिनेछ, साथै यो नागरिकताको बाटो हुनेछ। र, धनी मानिसहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन्।’

गोल्ड कार्ड करिब दुई सातापछि विक्री सुरु हुने ट्रम्पले बताएका छन् । ५० डलर भनेको नेपाली रुपैयाँ करिब ७० करोडजति हुन्छ ।

सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले यस्तो गोल्ड कार्ड रुसी प्रभावशाली व्यापारीहरूलाई पनि बेचिने बताएका छन् । उनले केही रुसी धनाढ्यहरू अत्यन्तै राम्रा मान्छेका रूपमा आफूले चिनेको बताएका छन् । ट्रम्पले रुसी नागरिकलाई लक्षित गरी यस्तो योजना अघि सारिएको अनुमान गरिएको छ ।

अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले यस्तो कार्डले अमेरिकी सरकारको इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसालाई विस्थापित गर्ने बताए । इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसा विदेशी लगानीकर्तालाई अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्ने प्रयोजनका लागि दिने गरिन्छ ।

ट्रम्पको पहिलो कार्यकालमा सांसदहरूबाट यस कार्यक्रमको आलोचना भएको थियो, धेरैले यो आफ्नो लक्ष्यबाट विचलित भएको र सुधारको आवश्यकता रहेको चेतावनी दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *