एयरटेलपछि जियोसँग स्टारलिंकको सम्झौता, भारतमा आक्रमक बन्दै
काठमाडौं। एलन मस्कको इन्टरनेट कम्पनी भारतीय बजारमा प्रवेश गरेको छ।
उच्च गतिको इन्टरनेट सेवा दिने स्टारलिंकले भारतमा एयरटेलपछि रिलायन्स जियोसँग पनि सम्झौता गरेर भारतीय बजारमा आक्रामक रुपमा अगाडी बढ्ने संकेत गरेको छ। स्टारलिंक एक स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेट सेवा हो जसले स्याटेलाइट कभरेज भित्र जहाँसुकै इन्टरनेट पहुँच प्रदान गर्न सक्छ। यस सुविधाका कारण, परम्परागत इन्टरनेट सेवा उपलब्ध नभएका दुर्गम वा ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँचको लागि विश्वव्यापी रुपमा यो राम्रो विकल्प बनिरहेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार, जियो प्लेटफर्म्स लिमिटेडले जियो र स्टारलिंकले सम्पूर्ण भारतलाई उच्च गतिको इन्टरनेटसँग जोड्न एकसाथ विस्तार गरिरहेका छन् र यो सम्झौता भारतमा इन्टरनेट कनेक्टिभिटीको विकासमा कोसेढुंगा भएको बताएको छ।
जियो प्लेटफर्म्स लिमिटेडले भनेको छ-‘जियो प्लेटफर्म लिमिटेडले भारतीय उपभोक्ताहरूलाई स्टारलिंक ब्रॉडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेको छ। जियोले आफ्नो रिटेल आउटलेटहरू र अनलाइन मार्फत स्टारलिंक सेवा प्रदान गर्नेछ।’
गत वर्ष भारतको स्याटेलाइट ब्रॉडब्यान्ड बजारको लागि विश्वका दुई धनी व्यक्तिहरू, स्पेसएक्सका मालिक एलन मस्क र जियोका मालिक मुकेश अम्बानी बीच प्रतिस्पर्धा भएको थियो। गत अक्टोबरमा, भारत सरकारले ब्रोडब्यान्डको लागि स्याटेलाइट स्पेक्ट्रमको आवन्टन लिलामी मार्फत नभई प्रशासनिक रूपमा गरिने घोषणा गरेको थियो। मस्क पहिलेदेखि नै लिलामी मोडेलको आलोचक रहेका छन् भने अम्बानी यसको समर्थक रहेका छन्।
यसअघि एयरटेलले पनि स्टारलिङ्कसँग भारतमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउने विषयमा सम्झौता भएको जानकारी दिएको थियो।







डिसी नेपाल







Facebook Comment