अभौतिक मुद्रा कारोबारमा संलग्न ११ भारतीय बूढानीलकण्ठबाट पक्राउ
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट झन्डै ३ अर्बको अभौतिक मुद्रा कारोबारमा संलग्न गिरोहका ११ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत राजस्थान घर भएका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित बर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षी आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षकै विकाश कुमार छन्।
अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका-३ देउला टोलस्थित एक घरबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
पक्राउ परेका ११ जनालाई काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट विभिन्न कम्पनीका ३४ थान मोबाइल, ५ थान ल्याप्टप, हिसाबकिताब अभिलेख राखिएको ४ थान नोट बुक, १४ थान भारतीय बैंक खाता चेक बुक, २७ थान भारतीय एटीएम कार्ड र ४० थान भारतीय सिमकार्ड बरामद भएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment