पासपोर्ट रद्द गर्ने तयारी, अराजक गतिविधि नरोके पक्राउ गरिने
काठमाडौं। शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि सरकार पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बनेको छ। पूर्वराजा शाहकै निर्देशनमा राजावादीहरूले तीनकुने र आसपासका क्षेत्रमा तोडफोड, आगजनी, लुटपाट जस्ता अराजक गतिविधि गरेको सरकारको निष्कर्ष छ।
सुरक्षा निकायहरूले पनि शुक्रबार भएको राजावादीको अराजकता ज्ञानेन्द्रकै निर्देशनमा भएको सरकारलाई ब्रिफिङ गरेका छन्। पूर्वराजाको समर्थनमा राजावादीहरूले गरेको अनपेक्षित अराजकतापछि सरकारले कठोर नीति अख्तियार गरेको छ।
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया अगाडि बढाएको हो। शुक्रबार काठमाडौंमा अराजकता मच्चाउने मुख्य व्यक्ति नै पूर्वराजा शाह रहेको भन्दै शाहको राहदानी रद्द गर्ने प्रक्रिया अगाडि बढाएको सरकारी स्रोतको दाबी छ।
शुक्रबार काठमाडौंमा हिंसात्मक र आपराधिक घटना घटाउने मुख्य योजनाकार पूर्वराजा हुन् भन्ने निष्कर्ष निस्किएको जानकारी दिँदै एक उच्च सरकारी अधिकारीले हिंसा मच्चाउने मुख्य योजनाकार रहेको र टिम परिचालन गरेको आधारमा शाहको पासपोर्ट रद्द गर्ने प्रक्रिया अगाडि बढाउने सरकारको तयारी रहेको बताए। शाहलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता देखिएको सरकारको बुझाइ छ।
सरकारलाई सञ्चारमाध्यमदेखि नागरिक तहसम्ममा ज्ञानेन्द्रलाई निगरानी गर्न र जवाफदेही बनाउन दबाब परेको छ। विपक्षी दलहरूले पनि ज्ञानेन्द्रका गतिविधि नियन्त्रण गर्न सरकारमाथि दबाब बढाएका छन्।
यस प्रकारको दबाब बढ्दै गए पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ नै गर्ने सम्मको तहमा पुग्ने स्रोतको भनाइ छ। यस्तोमा शाह अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको सरकारी स्रोतको दाबी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment