काठमाडौंमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

डिसी नेपाल
१८ चैत २०८१ १२:२३
996
Shares

काठमाडौं । हराएको चार दिनपछि गाडिएको अवस्थामा काठमाडौंको माकलबारीमा एक युवकको शव फेला परेको छ।

सर्लाहीको चक्रघट्टा-८ घर भइ काठमाडौं गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल साहको शव गाडिएको अवस्थामा फेला परेको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करन कुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन्।

राहुल ११ चैतदेखि हराएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी परेकोमा खोजीका क्रममा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताएका छन्।

उनको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा १५ चैतमा फेला परेको प्रहरीले जनाएको छ।

लेनदेन विषयमा विवाद हुँदा उनीहरूले राहुलको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *