मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा नेपाली युवक भारतमा पक्राउ

डिसी नेपाल
२७ चैत २०८१ १७:२०
676
Shares

सञ्जय मिश्रा

रौतहट। मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्।

मोटरसाइकलको ट्यांकीभित्र चार किलो भन्दाबढी लागुऔषध गाँजासहित बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साहलाई भारतीय क्षेत्रमा संयुक्त टोली पक्राउ गरेको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भागसिंह गुर्जरले बताए।

सिमावर्ती भारतीय गाउँ पिठवा छेऊ पिलर संख्या ३५६र४ नजिकै मंगलबार साँझ आरोपी मुकेश साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको पल्सर मोटरसाइकल चढेर शंकास्पद अवस्थामा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।

सीमा क्षेत्रको गतिविधि नियालिरहेको झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा मोटरसाइकलको ट्यांकीभित्र चार किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबीका सहायक कमान्डेन्ट गुर्जरले जानकारी दिएका छन्।

पक्राउ परेका मुकेशले मोटरसाइकलको ट्यांकीभित्र र सिटमुनि गाँजा राखेर यसरी नै यसअघि पनि नेपालबाट भारतीय क्षेत्रमा तस्करीमार्फत गाँजा पुर्‍याएको सोधपुछको क्रममा स्वीकार गरेको एसएसबीले जनाएको छ।

बरामद गाँजा, मोटरसाइकलसहित साहलाई आवश्यक कारबाहीको लागि मंगलबार साँझ झरौखर थानाको जिम्मा लगाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ।

मकवानपुरको बिकट ठाउँहरूमा उत्पादित लागुऔषध गाँजा पछिल्लो समय रौतहट र बाराको विभिन्न नाका हुँदै तस्करीको माध्यमबाट तस्करले भारतीय क्षेत्रमा पुर्‍याइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *