गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार

काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको संकेत गरेका छन्।
प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्षणमा पनि दोहामा वार्ता टोलीले विटकोफ फ्रेमवर्कअनुसार होस् वा युद्ध अन्त्यको एक भागको रूपमा सम्झौताका लागि सबै सम्भावनालाई खोज्न काम गरिरहेको छ।”
विज्ञप्तिमा अगाडि भनिएको छ, “सम्झौताले सबै बन्धकहरूको रिहाई, हमास ‘आतंककारी’ हरूको निर्वासन र गाजा पट्टीको निःशस्त्रीकरण समावेश गर्नेगरी वार्ता टोलीले काम गर्नेछ।”
यसैबीच इजरायलले दश हप्तासम्म गाजामा नाकाबन्दी लगाएपछि “भोकमरीको संकट नहोस्” भन्नका लागि “आवश्यक खाद्यान्न मात्र” प्रवेश गर्न दिने घोषणा गरेको छ।
यो कदम इजरायली रक्षा बलको सिफारिसमा लिइएको र हमासविरुद्ध पुनः सुरु गरिएको सैन्य अभियानलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको प्रधानमन्त्री नेतान्याहुको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ।
इजरायली सेनाले गाजाभर स्थलगत सैन्य कारबाही सुरु गरेको केही घण्टापछि यो घोषणा आएको हो । नाकाबन्दीका कारण कुनै पनि खाना, इन्धन वा औषधि प्रवेश गर्न नदिइएकोमा इजरायलमाथि दबाब बढ्दै गएको छ।
Facebook Comment