होन्डाले विद्युतीय सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने
टोकियो। जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले मंगलबार आफ्नो विद्युतीय सवारी साधनसम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् २०३० सम्मको लागि तोकिएको लगानी १० ट्रिलियन येन (झण्डै ६९ अर्ब अमेरिकी डलर) बाट घटाएर ७ ट्रिलियन येन (करीब ४८ अर्ब डलर) बनाउने घोषणा गरेको छ। यो लगानीमा ३० प्रतिशत कटौती हो।
कम्पनीले विश्वभर अपेक्षा गरेजस्तो तीव्र रुपमा विद्युतीय सवारी साधनको स्वीकृति नपाएको र विशेषगरी अमेरिकामा लागू हुने अनुदान नीतिहरूमा अनिश्चितता बढिरहेको जनाउँदै यस्तो निर्णय लिएको हो।
कम्पनीका अध्यक्ष तोशिहिरो मिबेका अनुसार अब सन् २०३० सम्ममा होन्डाको कुल सवारी साधन बिक्रीमध्ये विद्युतीय सवारीको हिस्सा २० प्रतिशत मात्र रहनेछ, जुन पहिलाको लक्ष्य ३० प्रतिशत थियो।
क्यानडामा निर्माण गर्न लागिएको ब्याट्री र विद्युतीय सवारी उत्पादन केन्द्रको निर्माण कार्य सन् २०२८ मा सुरु हुने भनिएको थियो, तर अब उक्त योजना दुई वर्ष पछाडि सारिएको छ। कम्पनीले त्यस अवधिमा अवस्था मूल्यांकन गरेर योजना अगाडि बढाउनेछ।
यद्यपि लगानी घटाइएको भए पनि, कम्पनीले सन् २०४० सम्म आफ्ना सम्पूर्ण नयाँ सवारी साधनहरूलाई विद्युतीय वा इन्धनको सट्टा बिजुली प्रयोग गर्ने बनाउने दीर्घकालीन लक्ष्य यथावत राखेको छ। त्यसैगरी, होन्डाले सन् २०३० सम्म हालको तुलनामा दोब्बर अर्थात् २२ लाख हाराहारीमा हाइब्रिड सवारीको बिक्री गर्ने लक्ष्य राखेको छ।
त्यसैगरी, होन्डाले अत्यधिक नाफा दिने मोटरसाइकल व्यवसायमा ध्यान केन्द्रित गर्ने भएको छ। हाल ४० प्रतिशत रहेको विश्व बजार हिस्सालाई ५० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य लिएको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment