जेलेन्स्कीले भने- अमेरिका र अन्य देशहरूको मौनताबाट पुटिनलाई प्रोत्साहन मिल्छ
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र अन्य देशहरूको मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण जारी राख्न प्रोत्साहित गरेको बताएका छन्।
जेलेन्स्कीले युद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण पछि यो कुरा भनेका हुन्, जसमा रुसले लगभग ४०० क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो। यस आक्रमणमा कम्तिमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ।
जेलेन्स्कीले भने ‘रुसमाथि कडा दबाब नदिएसम्म यस्ता अत्याचार रोक्न सकिँदैन।’
युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रातभरको आक्रमणले रुस युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्यमा रहेको देखाएको बताइन्। उनले रुसमाथि थप अन्तर्राष्ट्रिय दबाब दिन पनि आह्वान गरेकी छिन्।
यसैबीच, रूस र युक्रेनबीच अहिलेसम्मकै सबैभन्दा ठूलो युद्धबन्दी आदानप्रदान सम्पन्न भएको छ।
आइतबार बिहान, दुवै पक्षले एकअर्कालाई तीन सयभन्दा अलि बढी सिपाहीहरू फिर्ता गरे। पछिल्लो तीन दिनमा जम्मा दुई हजार कैदी रिहा भएका छन्।
युक्रेनी अधिकारीहरूले रुसी कैदबाट फर्किएका अधिकांशलाई यातना दिइएको, खानाबाट वञ्चित गरिएको र ब्रेनवाश गरिएको बताएका छन्।







डिसी नेपाल







Facebook Comment