‘जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका निम्ति क्रियाशील छु’

डिसी नेपाल
१७ जेठ २०८२ २१:४९
48
Shares

खोटाङ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितताका निम्ति आफू क्रियाशील रहेको बताएका छन्।

किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ-जायजुममा आज आयोजित बृहत् साकेला प्रदर्शनीमा उनले जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताए। ‘नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ। संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ। अहिले संविधानमा यी विषयहरु समेटिएका छन्’, उनले भने, ‘सबै जाति, धर्म र संस्कारको समान अधिकार हुनुपर्छ। एकले अर्कालाई सम्मान गरेमा मात्र सभ्य समाज निर्माण गर्न सकिन्छ।’

फरक सन्दर्भमा नेता कोइरालाले वर्तमान गठबन्धन सरकारलाई असफल हुने छुट नरहेको बताए। उनले भने, ‘सुशासन, सहज एवं पारदर्शी रुपमा सेवा प्रवाह, रोजगारी सिर्जना तथा आर्थिक सुधारमा ध्यान दिनुपर्छ। जनअपेक्षाअनुसारका धेरै काम गर्न जरुरी छ।’

जिल्लास्थित पार्टीका कार्यकर्तासँग अन्तरक्रियासमेत गरेका नेता कोइरालाले नेपाली कांग्रेसले सरकारको नेतृत्व नगरेसम्म देश अगाडि बढ्न नसक्ने बताए। उनले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरभित्रै सम्पन्न गराउन आफूहरु लागिपरेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *