संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्छ: नेता महर

डिसी नेपाल
१७ जेठ २०८२ २३:१५
136
Shares

ताप्लेजुङ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्ने बताएका छन्। संविधानलाई संकटमा पार्ने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले यस्ता गतिविधिको प्रतिवाद गर्नुपर्नेमा जोड दिए।

मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा नेता महरले समावेशी अधिकारसहितको संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भएको स्मरण गराउँदै त्यसको रक्षा गर्नु पार्टीको जिम्मेवारी भएको बताए।

‘समाजमा अराजकता मच्चाउन खोज्ने शक्तिहरूलाई समावेशी नेपालको अवधारणा मन परेको छैन,’ उनले भने, ‘जनजाति, दलित, महिलाले पाएको संवैधानिक अधिकार सहन नसकेर ती शक्ति संविधान संशोधनको नाममा वर्तमान व्यवस्थालाई नै संकटमा पार्न लागिपरेका छन्।’

राजावादीहरूको गतिविधितर्फ संकेत गर्दै नेता महरले संविधानको रक्षाका लागि अब सोच्ने र स्पष्ट आवाज उठाउने बेला आएको उल्लेख गरे। ‘नेपाली कांग्रेस संविधानको रक्षा गर्न चाहन्छ, दलित, महिला र जनजातिलगायतका समुदायको अधिकार खोसिएको हेर्न चाहँदैन’, उनले भने।

नेतृत्वमा रहेका कोहीकसैबाट साननतिना गल्ती हुन सक्ने स्वीकार गर्दै नेता महरले त्यो आधारमा सम्पूर्ण पार्टीलाई दोष दिनु उचित नहुने बताए। स्थानिक उत्पादनलाई प्रवर्द्धन गर्दै समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै उनले समावेशी विकास र आर्थिक समानता कांग्रेसको मुख्य प्राथमिकता भएको बताए। लोकतान्त्रिक अभ्यासलाई झुपडीबाट पनि नेतृत्व चयन हुने प्रणालीका रूपमा अझ सुदृढ गर्न कार्यकर्ताबीच ऐक्यबद्धता आवश्यक रहेको उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *