पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ।
सरकारले पैसा दिँदा ठेकेदारले काम नगरेको सो पलको निर्माण कार्य अहिले आएर ठेकेदारले काम गर्दा राज्यले पैसा दिन नसकेपछि लम्बिएको हो। सो पुल दुई वर्षमा काम सक्नेगरी २०७७ जेठ १ गते निर्माण सम्झौता भएको थियो।
निर्माण सम्झौता भएको पाँच वर्ष बिते पनि पुल निर्माणको काम अधुरै छ। पछिल्लो समय सरकाले रकम भुक्तानी नदिएको भन्दै व्यवसायीले पुल निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएर अड्काएर राखेको छ।
पुल निर्माणका लागि दिवारभुवनेश्वरी जेभीले ९ करोड ६४ लख ५ हजार ३ सय ८४ रुपैयाँमा सम्झौता गरेका थिए। पुलको डिजाइन परिवर्तन गर्नु परेका कारण कामको परिमाण थप हुँदा र मूल्य समायोजनका कारण लागत बढ्न गएर पुलको लागत झण्डै ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ।
सो कामको हालसम्म नौं करोड ५६ लाख ९ हजार ३ सय १५ रुपैयाँ भुक्तानी दिनु पर्ने प्राविधिक मूल्याङ्कन भएको छ। त्यसमध्ये ५३ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको निर्माण व्यवसायीको दाबी छ।
जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापमार्फत निर्माण भएको सो पुल निर्माणको अन्तिम म्याद २०८१ माघ ३० गतेसम्म रहेको थियो। उक्त म्याद समाप्त भएको भएपनि निर्माणको काम सकिएको छैन। सरकाले कामको भुक्तानी नदिएको कारण निर्माण कार्य रोक्नु परेको कम्पनीको भनाइ छ।
कुल १ सय २० मिटर लामो सो पुलमा तीनवटा स्पान रहेका छन्। अन्तिम स्पानको ढलान समेत सकिएको भएपनि पुलको घेराबारा र पुलसम्म पुग्ने पहुँच मार्ग निर्माणको काम बाँकी छ।
सो पुल बनेपछि मन्थलीबाट गैराथोक, सालु तथा साँघुटार हुँदै ओखलढुङ्गा जाने यात्रीको लागि छोटो बाटो हुनेछ। अहिले ती क्षेत्रमा जाने साधनहरू सुनारपानी घुमेर जाने गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment