बंगलादेशमा दुवै ठूला दल युनुसको चुनाव योजनाको विरुद्धमा

डिसी नेपाल
२७ जेठ २०८२ १४:४५

काठमाडौं । बंगलादेशमा अर्को वर्ष अप्रिलसम्ममा संसदीय चुनाव गर्ने सरकारको घोषणाको देशका दुई प्रमुख दलहरूले विरोध गरेका छन्। गत वर्ष अगस्टमा भएको कथित क्रान्तिपछि सत्ताबाट हटाइएको शेख हसिनाको पार्टी अवामी लिगले यो चुनाव योजनाको विरोध गरेको छ। बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा शेख हसिनाको कट्टर प्रतिद्वन्द्वी खालेदा जियाको पार्टी बीएनपीले पनि अप्रिलसम्म चुनाव स्थगित गर्ने विरोध गरेको छ।

खालिदा जियाको पार्टी बीएनपी मुहम्मद युनुसको विरुद्धमा खुलेआम बाहिर आएको छ। बीएनपीले अप्रिल २०२६ मा देशमा आम चुनाव गराउने कुराको खुलेआम विरोध गरिरहेको छ। बीएनपी स्थायी समिति सदस्य अमिर खसरु महमूद चौधरीले अन्तरिम सरकारलाई सोधेका छन् – ‘मुहम्मद युनुसले अर्को वर्ष अप्रिलमा संसदीय चुनाव गराएर कसको हित पूरा गर्न खोजिरहेका छन् ?’

‘बीएनपीले अप्रिल २०२६ मा चुनाव गराउन धेरै कठिनाइहरू रहेको बताएको छ। रमजान, खराब मौसम र परीक्षा जस्ता मुद्दाहरूलाई उद्धृत गर्दै बीएनपी नेताले यस अवधिमा चुनाव गराउनु पूर्णतया अव्यावहारिक भएको बताए किनकि यो सही समय होइन । उनले भने – “धेरैजसो राजनीतिक दलहरू डिसेम्बरसम्ममा चुनाव होस् भन्ने चाहन्छन् र त्योभन्दा अगाडि बढ्नुको कुनै तार्किक कारण छैन। यो अगस्ट वा सेप्टेम्बरमा पनि हुन सक्छ।”

खसरुले अप्रिलमा चुनावको समय तोकिनु पूर्णतया अतार्किक भएको बताए। बीएनपीले सरकारको नियतमाथि प्रत्यक्ष प्रश्न उठायो र यसबाट कसको हित हुन्छ भनेर सोध्यो। उनले भने – “यदि केही व्यक्तिहरूको स्वार्थ हावी भयो भने, अन्तरिम सरकार अन्तर्गत हुने आगामी चुनाव निष्पक्ष हुनेछ कि हुनेछैन भन्नेमा शंका छ।” उनले सबै दलको सहमतिमा निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरे।

जुन ६ को साँझ मुख्य सल्लाहकार प्रोफेसर मुहम्मद युनुसले अर्को राष्ट्रिय चुनाव अप्रिल २०२६ को पहिलो पन्ध्र दिनमा कुनै पनि दिन हुने घोषणा गरेका थिए । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना हाल भारतमा बस्दै आएकी छिन्। उनको पार्टी अवामी लिगले यो चुनाव योजनाको विरोध गरेको छ। युनुस सरकारले शेख हसिनाको पार्टीलाई प्रतिबन्ध लगाएको छ र अब यो पार्टीले बंगलादेशमा चुनाव लड्न सक्दैन। यस पार्टीका नेताहरू अहिले भारत लगायत धेरै देशहरूमा शरण लिइरहेका छन्।

यस निर्णयको विरोध गर्दै बंगलादेश अवामी लिग अमेरिकाका नेता रब्बी आलमले भने – ‘हाम्रो संविधान राष्ट्रको आधारभूत सिद्धान्तहरूको आधार हो र यो संविधानले अधिकार दिन्छ। शेख हसिना लोकतान्त्रिक रूपमा निर्वाचित भएकी छिन्। हामी यो तथाकथित चुनावको निन्दा गर्नेछौं किनभने हाम्रो संविधान अनुसार शेख हसिना २०२९ सम्म प्रधानमन्त्री हुन्। लोकतान्त्रिक शासन प्रणालीमा जनता नै मुख्य शक्ति हुन्। जनताले मतदान गरेर शेख हसिनालाई छनोट गरेका छन्।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *