बागमतीका निलम्बित प्रमुख थापा ५० लाख धरौटीमा छुटे

डिसी नेपाल
२ असार २०८२ १७:५८
448
Shares

रौतहट। सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन्।

डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गएको बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’शिर्षकमा मुद्दा दायर गरेको थियो।

सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरका अनुसार थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अदालतमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको उनले जानकारी दिए ।

सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछा पोखरी (भरत ताल)निर्माण गरेको भन्दै मुद्दा दायर भएको थियो ।

बागमती नगरपालिकाकी निलम्बित उपप्रमुख लीलाकुमारी मोक्तान, नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालिन प्रमुख मेथुर चोधरी विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

उनीहरुमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पु‍र्याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको छ । सर्लाही जिल्ला अदालतबाट धरौटीमा रिहा भएपनि थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्वन्धी दुईवटा मुद्दा यसअघि नै दायर गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *