के अमेरिकाले इरानमाथि आक्रमण गर्नेछ ? यस्तै महत्त्वपूर्ण ९ प्रश्नहरू र तिनीहरूको जवाफ

काठमाडौं । इजरायल र इरानले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। तर के अमेरिका पनि यो द्वन्द्वको हिस्सा बन्नेछ ? यो अहिलेको सबैभन्दा महर्वपूर्ण प्रश्न हो ।
बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई यो प्रश्न सोध्दा उनले भने, ‘म युद्धमा सामेल हुन सक्छु। नहुन पनि सक्छु।’ बीबीसी संवाददाता र विज्ञहरूले इजरायल-इरान द्वन्द्व सुरु भएदेखि निरन्तर सोधिएका र इन्टरनेटमा शीर्ष खोजहरूमा रहेका केही महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिएका छन् ।
१. इजरायलले अहिले किन इरानमाथि बमबारी गरिरहेको छ ?
बीबीसी सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरका अनुसार यस प्रश्नमा इजरायलले आक्रमणको कुनै विकल्प नभएको दाबी गर्छ । पछिल्ला केही महिनाहरूमा इरानले आणविक हतियार बनाउने आफ्नो योजनालाई तीव्र बनाएको इजरायलको विश्वास छ ।
इजरायलका अनुसार इरानको आणविक कार्यक्रमका विषयमा वार्ताले कुनै समाधान निम्त्याइरहेको थिएन । त्यसैले इरानमाथि आक्रमण गर्नु नै एक मात्र विकल्प थियो।
इजरायलले इरानलाई आफ्नो अस्तित्वको लागि खतराको रूपमा हेर्छ। यसको पछाडिको तर्क छ – यदि इरानले आणविक हतियार विकास गर्छ भने, उसले ती हतियारहरूलाई इजरायलविरुद्ध प्रयोग गर्नेछ किनभने उसले पहिले नै इजरायललाई ध्वस्त पार्ने वाचा गरेको छ।
इजरायल भन्छ – इरान आणविक हतियार विकास गर्ने मामिलामा सफलताको धेरै नजिक थियो तर यस क्षेत्रका अन्य देशहरूले यो मुद्दा उठाएनन्।
तर, संयुक्त राष्ट्रसंघको आणविक निगरानी गर्ने संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) पनि यस कुरामा असहमत छ। न त अमेरिकी गुप्तचर विभागको अघिल्लो खुला स्रोत प्रतिवेदनले इरानले आणविक हतियार विकास गर्न लागेको बताएको छ।
२. इरानी नागरिकहरू कहाँ जान सक्छन् ?
बीबीसीका मध्य पूर्व संवाददाता नफिसेह कोहनावर्डका अनुसार इजरायली रक्षा बलले इरानी राजधानी तेहरानका केही भागहरू खाली गर्न सूचना जारी गरेको छ, तर यी क्षेत्रहरू बढी घना बस्ती भएका छन्।
तेहरानबाट देशको उत्तरी भागतर्फ सवारी साधनहरूको विशाल लाइन लाग्दा ठूलो ट्राफिक जामको फुटेज अन्तर्राष्ट्रिय मिडियामा हामीले देखेका छौं। यो क्षेत्रलाई इरानीहरूले सुरक्षित मान्छन्। तर ती क्षेत्रहरूमा पनि आक्रमणहरू भएका छन्।
इजरायलले यति व्यापक स्तरमा आफ्नो लक्ष्य निर्धारण गरेको हुनाले कुनै पनि क्षेत्रलाई सुरक्षित मान्न सकिँदैन। तेहरानमा रहेको इरानी सरकारले मानिसहरूले आश्रय लिन सकून् भनेर २४ घण्टा मेट्रो स्टेशनहरू खोल्ने घोषणा गरेको छ।
तेहरानमा दस लाख मानिसहरू बसोबास गर्छन् त्यसैले यति ठूलो संख्यामा मानिसहरूलाई बाहिर निकाल्नु वास्तविक रूपमा सम्भव छैन।
३. अमेरिका द्वन्द्वमा प्रवेश गर्यो भने के इरानले अमेरिकी अड्डाहरूमा आक्रमण गर्नेछ ?
सुरक्षा ब्रिफ होस्ट माइकी केका अनुसार यसमा निश्चित रूपमा जोखिम छ र अमेरिकाको लागि परिणाम धेरै गम्भीर हुनेछ।
मध्यपूर्वभरिका १९ वटा बेसमा लगभग ४० देखि ५० हजार अमेरिकी सैनिकहरू छन्। अमेरिकी सैन्य कर्मचारीहरू साइप्रसमा तैनाथ छन् र बहराइनमा पनि अमेरिकी नौसेना बेस छ।
इरानले अमेरिकामाथि कत्तिको घातक आक्रमण गर्छ भन्ने कुरा सबै अमेरिकाले यसमा कसरी र कुन हदसम्म संलग्न हुने निर्णय गर्छ भन्ने कुरामा निर्भर गर्दछ।
४. के इरानका प्रोक्सी शक्तिहरूले द्वन्द्वमा इरानलाई समर्थन गर्न सक्छन् ?
बीबीसी सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरलाई इरानका प्रोक्सी शक्तिहरूले द्वन्द्वमा इरानलाई समर्थन गर्छन् भन्ने लाग्दैन । अहिलेको परिस्थितिमा त झनै लाग्दैन ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेदेखि इजरायलले इरानको रक्षा प्रणालीलाई व्यवस्थित रूपमा क्षति पुर्याएको छ।
इजरायलले गाजामा हमासलाई ध्वस्त पारेको छ। इजरायलीहरूले लेबनानमा रहेको हिजबुल्लाहको हतियार भण्डारण सुविधाहरूलाई ठूलो मात्रामा ध्वस्त पारेका छन्।
सिरिया अब इरानको मित्र रहेन किनकि बसर अल-असदलाई त्यहाँको सत्ताबाट हटाइएको छ। यद्यपि, यो काम इजरायलले गरेको होइन । यमनका हुथी विद्रोहीहरू धेरै सीमित छन्, त्यसैले तिनीहरूको समन्वय धेरै राम्रो छैन।
५. इरानका नेतालाई कति समर्थन छ ?
इरानका सर्वोच्च नेता अली खामेनी हुन्। उनी एक धार्मिक व्यक्तित्व हुन् जससँग इरानका राष्ट्रपतिभन्दा धेरै गुणा बढी शक्ति छ।
बीबीसी मध्य पूर्व संवाददाता नफिसेह कोहनावर्डका अनुसार उनी सुरक्षा बलका कमाण्डर-इन-चीफ हुन्। अमेरिकासँगको वार्ता र अन्य मुद्दाहरूमा खामेनी मुख्य निर्णयकर्ता हुन्।
तर उनलाई इरानका जनताको पूर्ण समर्थन छैन। इरानका मानिसहरू विभाजित छन् र यो विभाजन गहिरो हुँदै गइरहेको छ।
दुई वर्षअघि मात्र इरानका जनताले सर्वोच्च नेताको शक्ति विरुद्ध धेरै ठूला विरोध प्रदर्शनहरू देखिएका थिए। महिलाहरूले आफ्नो स्वतन्त्रता र अधिकारको माग गर्दै यी विरोध प्रदर्शनहरूमा भाग लिएका थिए।
तर हामी शासनसँग देशका सशस्त्र बलहरू सहित अझै पनि समर्थकहरू छन् भन्ने कुरालाई बेवास्ता गर्न सक्दैनौं ।
६. यदि इरानको शासन ढालियो भने के हुन्छ ?
बीबीसी मध्य पूर्व संवाददाता नफिसेह कोहनावर्डका अनुसार यसको कुनै स्पष्ट उत्तर छैन। इरानमा पछिल्ला केही वर्षहरूमा देखिएका घटनाक्रले संकेत गरेअनुसार त्यहाँ सरकार परिवर्तन गर्न मिलेर काम गर्न सक्ने कुनै पनि संयुक्त विपक्षी छैन।
आसन ढालिएको अवस्थामा अहिले धेरै विकल्पहरू छन् जसमा इरानका पूर्व शाहका निर्वासित छोरा रेजा पहलवी पनि समावेश छन्, जो अहिले विदेशमा बस्छन्। इरान भित्र र बाहिर उनका समर्थकहरू छन् तर कति समर्थकहरू छन् भनेर भन्न सकिँदैन।
उनका विरोधीहरू पनि छन् । विरोधीहरूमा देश भित्रका सुधारवादीहरू पनि छन् जो लगभग ४० वर्षअघि पतन गरिएको इरानको राजतन्त्रमा फर्कन चाहँदैनन्। त्यसैले कुनै विकल्प छ कि छैन भन्ने कुरा स्पष्ट छैन।
७. फोर्डो कहाँ छ र यो के हो ?
सुरक्षा ब्रिफ होस्ट माइकी केका अनुसार फोर्डो तेहरानबाट लगभग २०० किलोमिटर दक्षिणमा अवस्थित छ र इरानको दुई मुख्य युरेनियम संवर्धन स्थलहरू मध्ये एक हो।
फोर्डोलाई यसको सुरक्षाको लागि पहाडमा बनाइएको छ। यो मूलतः इरानले आफ्नो समृद्ध युरेनियम भण्डार बढाउन प्रयोग गरिरहेको प्रमुख संवर्धन आधारहरू मध्ये एक हो।
इजरायली रक्षा बल (आइडीएफ) ले फोर्डोमा पहिले नै आक्रमण गरिसकेको छ। यद्यपि, आक्रमणहरू इरानको सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू र यस क्षेत्रमा रहेको हवाई रक्षा क्षमताहरूलाई लक्षित गरी गरिएको विश्वास गरिन्छ, ताकि यसलाई अझ कमजोर बनाउन सकियोस्।
८. इरान आणविक बम प्राप्त गर्ने मामिलामा सफलताको कति नजिक छ ?
बीबीसी सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरका अनुसार इरानले आणविक बम बनाउने काम गरिरहेको थियो कि थिएन भन्ने कुरा इरानका सबैभन्दा विश्वसनीय आणविक वैज्ञानिकहरू, सुरक्षा प्रतिष्ठानका भित्री व्यक्तिहरू र सर्वोच्च नेता स्वोंलाई मात्र जानकारी हुन सक्छ । बाँकी सबै अनुमान मात्र हो।
तर यस महिनाको सुरुमा संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था (आइएइए) ले इरानले लगभग २० वर्षमा पहिलो पटक आफ्नो आणविक अप्रसार दायित्वहरू उल्लङ्घन गरेको पत्ता लगाएपछि चिन्ताहरू देखा परेका थिए ।
इरानले लगभग ४०० किलोग्राम ६० प्रतिशतसम्म समृद्ध युरेनियम जम्मा गरेको छ जुन नागरिक आणविक उद्देश्यका लागि आवश्यक पर्ने स्तरभन्दा धेरै बढी हो।
संयुक्त राष्ट्रसंघीय निकायले इरानले आफूहरूलाई पूर्ण रूपमा सहयोग गर्न असफल भएको र आणविक हतियार बनाउन आणविक सामग्री प्रयोग गरिएको थिएन भनेर प्रमाणित गर्न असमर्थ भएको बताएको छ।
इजरायली सेनाले गत हप्ता भनेको थियो “विगत केही महिनादेखिको गुप्तचर निकायले इरान आणविक हतियार प्राप्त गर्ने मामिलामा सफलताको नजिक पुगेको देखाएको छ।”
तर यो कसको गुप्तचर जानकारी थियो ? सम्भवतः यो गुप्तचर जानकारी इजरायलको सबैभन्दा नजिकको सहयोगी संयुक्त राज्य अमेरिकाको इन्टेलिजेन्ट रिपोर्ट थिएन ।
मार्चमा, अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डले कांग्रेसलाई भनेकी थिइन् “इरानले हतियार बनाउन योग्य युरेनियम जम्मा गरेको छ, तर उसले आणविक बम बनाउँदैछ जस्तो देखिँदैन ।”
यसैबीच, इरानले सधैं आफ्नो आणविक कार्यक्रम पूर्णतया शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ।
९. के इजरायलसँग आणविक हतियार छ ?
सुरक्षा ब्रीफ होस्ट माइकी केका अनुसार इजरायलसँग लगभग ९० वटा आणविक हतियार रहेको अनुमान गरिएको छ। तर वास्तवमै ऊसँग कति हतियार छन् भन्ने स्पष्ट जानकारी छैन ।
इजरायलले आणविक क्षमताको न त पुष्टि गरेको छ न त अस्वीकार गरेको छ। इजरायल आणविक अप्रसार सन्धिको हिस्सा होइन । यो सन्धि धेरै देशहरूलाई आणविक बम प्राप्त गर्नबाट रोक्नको लागि एक विश्वव्यापी सम्झौता हो।
आणविक हतियार हुनको लागि तीनवटा कुरा आवश्यक पर्दछ: पहिलो, ९० प्रतिशतसम्म समृद्ध युरेनियम, दोस्रो, हतियार बनाउने क्षमता र तेस्रो, त्यो हतियारलाई लक्ष्यमा पुर्याउने तरिका।
इजरायलले यी तीन मध्ये कुनै पनि विषयमा कुनै स्पष्ट घोषणा गरेको छैन।
Facebook Comment