अरविन्द केजरीवाल राज्यसभाको निर्वाचनमा उम्मेदवार नहुने

काठमाडौं । केही महिनाअघि मात्र केन्द्र शासित प्रदेश दिल्लीमा भएको विधानसभा चुनावमा हारपछि आम आदमी पार्टी सत्ताबाट बाहिरिएको थियो। आम आदमी पार्टीका संयोजक तथा मुख्यमन्त्री पदका उम्मेदवार अरविन्द केजरीवालले आफ्नो सिट पनि जित्न सकेनन्।
त्यसबेलादेखि नै उनी राज्यसभा जाने बारेमा अड्कलबाजी सुरु भयो। पञ्जाबको लुधियाना पश्चिम विधानसभा सिटको उपचुनावमा आम आदमी पार्टीले राज्यसभा सांसद सञ्जीव अरोरालाई उम्मेदवार घोषणा गरेपछि केजरीवाल उनको ठाउँमा चुनाब लडेर राज्यसभा जाने अड्कलबाजीलाई थप बल पुर्याएको थियो ।
अहिले लुधियाना पश्चिम विधानसभा सिटको उपचुनावको नतिजा आइसकेको छ र आम आदमी पार्टीका राज्यसभा सांसद सञ्जीव अरोराले चुनाव जितेका छन् । उनी विधानसभामा निर्वाचित भएसँगै उनको राज्यसभा सिट औपचारिक रूपमा रिक्त भएको छ र यो सिटमा उपचुनाब हुनेछ ।
यहाँबाट अरविन्द केजरीवालले राज्यसभा चुनाब लड्ने अनुमान गरिएको भए पनि अहिले भने केजरीवालले यहाँ चुनाब लड्न अस्वीकार गरेका छन् । केजरीवाल राज्यसभा नजाने निश्चित भएसँगै यहाँबाट आम आदमी पार्टीको उम्मेदवार को हुन्छ भन्ने विषयमा अहिले चासो बढेको छ ।
आम आदमी पार्टीमा अरविन्द केजरीवालपछि दोस्रो नम्बरमा मानिने मनिष सिसोदियालाई राज्यसभाको दौडमा अग्रपंक्तिमा मानिन्छ। दिल्ली चुनावमा मनिष सिसोदियालाई पार्टीले उपमुख्यमन्त्री पदको उम्मेदवार घोषित गरेको थियो, तर उनले पनि आफ्नो सिट जित्न सकेनन्। मनिष सिसोदिया पञ्जाबका इन्चार्ज हुन्।
दिल्ली सरकारका पूर्व मन्त्री सत्येन्द्र जैनको नाम पनि राज्यसभाको दौडमा रहेको बताइएको छ। सत्येन्द्र जैन २०१५ देखि २०२३ सम्म अरविन्द केजरीवालको नेतृत्वमा रहेको दिल्ली सरकारमा मन्त्री थिए । सत्येन्द्रलाई अरविन्द केजरीवालका नजिकका सहयोगी पनि मानिन्छ।
आम आदमी पार्टीको अगाडि तेस्रो विकल्प भनेको पञ्जाबको राज्यसभा सिटबाट पञ्जाबकै अनुहार पठाउनु हो। यो माग स्थानीय नेतृत्व स्तरमा पनि तीव्र गतिमा बढिरहेको छ। स्थानीय स्तरका धेरै पार्टी नेताहरू दिल्लीबाट राज्यसभामा नेता पठाउँदा पार्टीलाई स्थानीय स्तरमा घाटा हुन सक्ने ठान्छन्।
Facebook Comment